Kakhara सबैको खबर सम्पूर्ण खबर
खलङ्गामा कार्तिक ९ गते विविध कार्यक्रम सहित पाँच पूर्णिमा मेला लाग्ने 
फाइल फाेटाे ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा विजयादशमी पछिको पूर्णिमाको अवसरमा लाग्ने पाँच पूर्णिमा मेला यस वर्ष पनि लाग्ने भएको छ । परम्परागत यो मेला केही वर्ष देखि लाग्न प्राय छाडेको थियो । तर गत वर्षबाट भने विविध कार्यक्रम सहित मेला लगाउन सुरु गरिएको छ । 

मेलाका लागि वराहटाकुरा पाँच पूर्णिमा मेला तदर्थ समिति गठन गरिएको छ । उक्त समितिले यस वर्ष पनि मेलाको अवसरमा विविध कार्यक्रम आयोजना गरेर मेलालाई भव्य बनाउने तयारी गरेको छ । यस वर्षको मेला कार्तिक ९ गते परेको तदर्थ समितिले जनाएको छ । 

मेलाको अवसरमा महिला पुरुष खुला रसाकसी, घैटोफोर लगायतका कार्यक्रम आयोजना गरिएको छ भने स्थानीय झाँकी सहितका नाचहरूको प्रस्तुति रहने छन् । महिला तथा पुरुष रसाकसीका लागि विजेता पुरस्कार ५ हजार तोकिएको छ । 

घैटोफोरको पुरस्कार २ हजार राखिएको छ । त्यस्तै मेलामा प्रस्तुत हुने स्थानीय झाँकी तथा नृत्य समूहहरूलाई पनि पुरस्कारको व्यवस्था गरिएको समितिले जनाएको छ । मेलाको अवसरमा आयोजित कार्यक्रममा सहभागी बनी मेलालाई भव्य बनाउन आयोजकले जिल्लावासीमा अनुरोध गरेको छ । 

मेलामा आयोजित कार्यक्रममा सहभागिताका लागि कार्तिक ८ गतेसम्म टिम दर्ता गराउन सकिने छ । मेला ९ गते लाग्ने छ भने बिहान १० बजेबाट मेलाका अवसरमा आयोजित कार्यक्रमहरू सञ्चालन हुने छन् ।

परम्परागत रूपमा खलङ्गाको बराहटाकुरामा लाग्दै आएको मेला पछिल्ला केही वर्ष देखि भने लोप हुँदै गएको थियो । ५, ६ वर्ष अघिसम्म भव्य रूपमा लाग्दै आएको मेला पछिल्ला वर्षहरूमा भने लाग्न छाडेको थियो । तर गत वर्ष भने स्थानीयले भव्य रूपमा मेला लगाएका थिए । यो वर्ष पनि मेलालाई भव्य बनाउने तयारी गरिएको छ ।  

लोप हुँदै गएको पाँच पूर्णिमा मेला संरक्षणका लागि सहयोग सङ्कलन गरेर मेला लगाउन थालिएको समितिले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २, २०८३  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update