रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा विजयादशमी पछिको पूर्णिमाको अवसरमा लाग्ने पाँच पूर्णिमा मेला आज लागेको छ । परम्परागत रूपमा खलङ्गाको बराहटाकुरामा लाग्दै आएको मेला पछिल्ला केही वर्ष देखि भने लोप हुँदै गएको थियो । ५, ६ वर्ष अघिसम्म भव्य रूपमा लाग्दै आएको मेला पछिल्ला वर्षहरूमा भने लाग्न छाडेको थियो । तर गत वर्षबाट भने स्थानीयले मेला लगाउन सुरु गरेका हुन् । यस वर्ष पनि सोही समितिले मेला लगाएको हो ।
मेलालाई भव्य बनाउनका लागि गत वर्ष मेला सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको थियो । यस वर्ष पनि उक्त समितिले मेलाको प्रचारप्रसार देखि मेलामा सहभागी नाच समूहलाई पुरस्कृत गर्न तथा मेला सञ्चालनका लागि सहयोग सङ्कलन लगायत व्यवस्थापनका कामहरू गरेको हो ।
मुसिकोटका वडा वडाबाट विभिन्न नाच समूहहरू खलङ्गामा पुगेका थिए भने मेला अवलोकनका लागि गाउँ गाउँबाट मानिसहरू खलङ्गा पुगेका थिए । मेला यो वर्ष पनि भव्य रूपमा लागेको मेला सञ्चालन तथा व्यवस्थापन समितिका सचिव गोपाल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार हजारौँले मेला भरेका छन् ।
मेलामा विभिन्न ९ वटा नाच समूहले सहभागिता जनाउँदै नाच देखाएका थिए । पैँसेरु नाच, मयुर नाच तथा सिँगारु नाच र सोरठी नाच समूह सहभागी भएको सचिव थापाले बताउनुभयो । नाचले गर्दा दिनभर खलङ्गा स्थानीय मौलिक नाचमा झुमेको थियो । सबै नाच समूहलाई नगद १० हजार सहित पुरस्कृत गरिएको समितिका कोषाध्यक्ष वनिता मल्लले बताउनुभयो ।
त्यस्तै सिंगल नृत्य देखाउने १ जनालाई १ हजार रुपैयाँ प्रदान गरिएको उहाँले बताउनुभयो । पुरुष रसाकसीमा पिपलनेटा युवा समूह प्रथम भएको छ । उक्त समूले ५ हजार पुरस्कार पाएको छ । महिला पुरुष घैटोफोर समेत आयोजना गरिएकोमा उक्त प्रतियोगिता भने कसैले नजितेको आयोजकले जनाएको छ ।
लोप हुँदै गएको पाँच पूर्णिमा मेला संरक्षणका लागि सहयोग सङ्कलन गरेर मेला व्यवस्थापन गरिएको समितिले जनाएको छ । साथै समितिले मेलामा सहभागी व्यक्तिहरू, नाच समूह र सहयोगीहरूलाई धन्यवाद समेत दिएको छ । मेला व्यवस्थापनका लागि हेमराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिमा स्थानीयको प्रतिनिधित्व रहेको छ ।





