रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ र ७ को सिमाना मग्मामा आयोजित विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष बडा दशैको अवसरमा लाग्दै आएको शहिद स्मृति मेलामा आयोजित खेलकुद तथा साँस्कृति कार्यक्रम सम्पन्न भएको हो । कात्तिक ६ गतेदेखि सुरु भएको मेला मंगलबार सकिएको हो । मेलामा खुला शुद्ध वडा स्तरीय पुरुष भलिबल र पुरुष ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगिता प्रगतिशिल युवा क्वलले आयोजना गरेको हो ।
रुकुम पश्चिमका ३२ टिमले प्रतिस्पर्धा गरेको पुरुष भलिबल तर्फ बाँफिकोट गाउँपालिका वडा नम्बर ७ को आयोजक ए प्रथम भएको छ । मंगलबार भएको फाइनल खेलमा बाँफिकोट गाउँपालिका वडा नम्बर २ पिपललाई पराजित गर्दै आयोजक ए प्रथम भएको हो । प्रथम भएको आयोजकले नगद एक लाख १२ हजार एक सय रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेको प्रगतिशिल युवा क्वलका अध्यक्ष देबराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो भएको बाँफिकोट २ ले नगद ७५ हजार एक सय रुपैयाँको साथमा कप मेडल र प्रमाणपत्र पाउँदा तेस्रो स्थानमा चित्त बुझाएको सानीभेरी गाउँपालिका वडा नम्बर ३ ले नगद ३५ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाणपत्र पाएको छ । सान्त्वना भएको आयोजक बि ले १५ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाएको छ ।
त्यस्तै डबल पुरुष ब्याडमिन्टन प्रतियोगितातर्फ शिखर केसी र रोहित ओलीको जोडी पहिलो भएको छ । फाइनलमा खिम खनाल र खुबी शाहीको जोडीलाई पराजित गर्दैै शिखर रोहितको जोडी प्रथम भएको हो । प्रथम भएको जोडीले नगद २० हजार रुपैयाँको साथमा कप मेडल प्रमाण पत्रप्राप्त गरेको छ । दोस्रो भएको खिम खनाल र खुबी शाहीको जोडीले नगद १५ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाणपत्र पाउँदा सान्त्वना स्थानमा भएको भरत पुन र खगेन्द्र खनाल तथा बिशाल बिष्ट र सन्तोश केसीको जोडीले समान पाँच÷पाँच हजार रुपैयाँको साथमा मेडल र प्रमाण पाएको आयोजक समितिले जानकारी दिएको छ । मेलामा झाँकी सहित सहभागि भएका १८ वटा साँस्कृतिक समुहलाई पनि सम्मान गरिएको छ । उनीहरुलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको हो । मंगलबार एक कार्यक्रमका बिच मेला तथा मेलामा आयोजित खेलकुद प्रतियोगितको समापन गरिको हो । शहिदको सम्झनामा २०५५ सालदेखि यहाँ ठुलो मेला लाग्दै आएको छ ।





