Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम श्री को बम्पर लक्की ड्र भोली, विजेताले स्कुटर पाउने 

संयुक्त रुकुम यातायात प्रालिद्वारा सञ्चालित रुकुम श्री को बम्पर लक्की ड्र भोली सोमबार खोलिने भएको छ । सोमबार दिउँसो २ बजे मुसिकोट नगरपालिका वडा नम्बर १ स्थित बराहटाकुरामा लक्की ड्र गरिने प्रालिले जनाएको छ । 

एक औपचारिक कार्यक्रमको आयोजना गरी लक्की ड्र मार्फत एक जना भाग्यशाली यात्रु छनोट गरिने संयुक्त रुकुम यातायात प्रालिका अध्यक्ष डम्बर थापाले जानकारी दिनुभयो । रुकुम श्री का बसमा हालसम्म यात्रा गर्ने यात्रुहरूका बिचमा लक्की ड्र गरिने उहाँको भनाई छ । 

रुकुम श्री ले भाद्र १ गतेबाट सेवा सुरु गरेको थियो । प्रालिद्धारा सञ्चालित रुकुम श्री का सबै बसमा हालसम्म यात्रा गरेका यात्रुहरू लक्की ड्र मा सामेल हुने र एक जना भाग्यशाली यात्रुले बम्पर उपहार स्कुटर जित्ने अध्यक्ष थापाको भनाई छ । 

मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम गरी लक्की ड्र गरिने उहाँले बताउनुभयो । सोमबार पाँच पूर्णिमा मेलाको दिन लक्की ड्र गर्न लागिएको उहाँको भनाई छ । उहाँका अनुसार प्रालिले सेवा सुरु गर्दा गरेको घोषणा अनुसार लक्की ड्र गर्न लागिएको हो । 

प्रालिले आफ्ना यात्रुहरूलाई वार्षिक एक पटक बम्पर उपहार स्वरूप स्कुटर दिने घोषणा गरेको थियो । सोही अनुसार पहिलो पटक सेवा प्रवाह सुरु गरेको एक वर्ष नपुगे पनि दसैँ तिहारको अवसरमा लक्की ड्र गर्न लागिएको प्रालिले जनाएको छ । 

त्यस्तै प्रालिले बम्पर लक्की ड्र मार्फत एक जनाले स्कुटर पाउनुका साथै ५ जना यात्रुहरूलाई निःशुल्क यात्राका लागि छनोट समेत गरिने प्रालिको भनाई छ । प्रालिले हाल दैनिक एक जना यात्रुलाई लक्की ड्र मार्फत निःशुल्क यात्राको अवसर समेत दिइरहेको छ । प्रालिले रुकुम पश्चिम–काठमाडौँ र काठमाडौँ–रुकुम पश्चिम स्लिपर बस सेवा दिइरहेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update