Kakhara सबैको खबर सम्पूर्ण खबर
बहुविवाह मुद्दामा दोषी ठहरिएका फरार प्रतिवादी पक्राउ

बहुविवाह मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ का प्रेमबहादुर बुढा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सानीभेरी गाउँपालिका–२, गिठाकोट निवासी ४१ वर्षीय बुढालाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत मुसिकोट, रुकुम पश्चिमले २०७५ साल चैत्र १० गतेको फैसला आदेशबाट बहुविवाह मुद्दामा बुढालाई तीन वर्ष पाँच महिना आठ दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो । तर, अदालतको फैसला कार्यान्वयन नभई उनी फरार रहँदै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी सहायक हवलदार मोहन पौडेलसमेतको सादा पोसाकको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय छिन्चु, सुर्खेतसँग समन्वय गरी उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बुढालाई २०८३ साल कार्तिक ३ गते बिहान ११ बजेर १५ मिनेटको समयमा सुर्खेतको भेरीगंगा नगरपालिका–८, चौखं गाउँमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।

पक्राउ परेका बुढालाई अदालतको फैसला कार्यान्वयनका लागि इलाका प्रहरी कार्यालय छिन्चु, सुर्खेतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकार प्रहरी निरीक्षक हेमन्त गरीले जानकारी दिनुभयाे । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ५, २०८३  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update