रुकुम पश्चिममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान सुरु भएको छ ।
स्थानीय तहमा सङ्गठन सुदृढीकरण, अध्ययन तथा अन्तरक्रिया कार्यक्रम, पार्टी सङ्गठन विस्तार, जनताका सुझाव तथा गुनासा सुन्ने, पार्टी र जन सम्बन्ध सुमधुर बनाउने, सरकारले गरेका राम्रा कामको जनस्तरसम्म प्रचार गर्ने लगायतका उद्देश्य सहित अभियानको थालनी गरिएको हो ।
बिहीबार जिल्ला पार्टी कार्यालय मुसिकोटमा केन्द्रीय सदस्य मेनुका शाही, प्रदेश सदस्य शिलु थापा, जिल्ला सभापति द्रोण खड्का लगायतको उपस्थितमा आयोजित जिल्लास्थित पत्रकारहरुसंगको छलफल कार्यक्रम मार्फत अभियानको थालनी भएको घोषणा गरिएको हो ।
अभियान अन्तर्गत केन्द्रीय समिति बैठकको निर्णय अनुसार पार्टीका सांसद र केन्द्रीय सदस्य तथा प्रदेश सदस्यहरूको उपस्थितिमा जिल्लाका सबै स्थानीय तहमा सङ्गठन सुदृढीकरण अध्ययन तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जिल्ला सभापति द्रोण खड्काले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय पालिका तथा वडा तहका नेता कार्यकर्ता सँग सङ्गठन, स्थानीय समस्या, जनअपेक्षा तथा आगामी स्थानीय निर्वाचन तयारी बारे छलफल गरिने उहाँको भनाई छ । यस अभियानबाट पार्टीको जनसम्बन्ध राम्रो हुने, सरकारले गरेका राम्रा कामको जनस्तरसम्म प्रचार हुने र समग्रमा पार्टी सुदृढीकरणमा टेवा पुग्ने पार्टीको अपेक्षा छ ।
अभियान अन्तर्गत शुक्रवार आज जिल्लाको आठबिसकोट नगरपालिकामा कार्यक्रम हुने छ । आठबिसकोटको राडी र गोतामकोट गरी २ ठाउँमा कार्यक्रम हुने रास्वपा रुकुम पश्चिमका सचिव दीपेन्द्रराज विष्टले जानकारी दिनुभयो । राडीमा बिहान ११ बजे र गोतामकोटमा दिउँसो ३ बजे कार्यक्रम हुने उहाँको भनाई छ ।
असोज २४ गते सानीभेरी गाउँपालिकाको सिम्ली बजारमा, असोज २५ गते चौरजहारी नगरपालिकाको चौरजहारी बजार र खोलागाउँको क्रिकेट रङ्गशालामा, असोज २६ गते बाँफिकोट गाउँपालिकाको पिपल, बाँफिकोट, मग्मा र छिनखेतमा, असोज २७ गते मुसिकोट नगरपालिका वडा नम्बर १ स्थित पार्टी कार्यालयमा र असोज २८ गते त्रिवेणी गाउँपालिकाको नुवाकोटडाँडा, झुलनेटा र सिम्रुतुमा कार्यक्रम गर्ने गरी पार्टीले कार्य तालिका बनाएको छ ।
अभियानमा केन्द्रीय सदस्य मेनुका शाही, प्रदेश सदस्य शिलु शाही, जिल्ला सभापति द्रोण खड्का सहित पार्टीका जिल्ला समितिका पदाधिकारी, सदस्य, स्थानीय पालिका समितिका पदाधिकारी तथा सदस्य लगायतको सहभागिता रहने बताइएको छ ।





