Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम श्री बसमा यात्रा गर्ने भाग्यशाली दुर्गा, जितिन स्कुटर !

संयुक्त रुकुम यातायात प्रालिको बम्पर लक्की ड्र सम्पन्न भएको छ । प्रालिले आज मुसिकोट नगरपालिका वडा नम्बर १ को बराहटाकुरामा लक्की ड्र गर्दै स्कुटर प्राप्त गर्ने यात्रु छनोट गरेको हो । गत भाद्र १ गतेबाट रुकुम श्री बस सेवा सञ्चालनमा ल्याएको प्रालिले पूर्व घोषणा अनुसार आज लक्की ड्र गरेको हो ।

नेपाल सरकारले तोकेको आधिकारिक भाडा दरमा यात्रा गर्ने करिब १४ सय यात्रुहरूलाई लक्की ड्र मा समावेश गरिएकामा दुर्गा शाहीले स्कुटर जित्नुभएको छ । काठमाडौँबाट रुकुम पश्चिमको यात्रा गरेकी उहाँ भाग्यशाली विजेता बन्दै स्कुटर जित्नुभएको संयुक्त रुकुम यातायात प्रालिका अध्यक्ष डम्बर थापाले जानकारी दिनुभयो ।

दुर्गाले २ लाख ८५ हजार बजार मूल्य रहेको होन्डा कम्पनीको डिओ स्कुटर जितेको उहाँको भनाई छ । सेवा प्रारम्भका समयमा प्रालिले गरेको घोषणा अनुसार आज बम्पर लक्की ड्र गरिएको उहाँले बताउनुभयो । विजेता शाहीलाई स्कुटरका लागि एक साता भित्र प्रालिको कार्यालय मुसिकोटमा सम्पर्क गर्न प्रालिले अनुरोध गरेको छ ।

विजेताले स्कुटर कम्पनीबाट आफ्नो नाममा लिन र बिमा बापत लाग्ने रकम बाहेक अरू केही खर्च बेहोर्न नपर्ने प्रालिले जनाएको छ । त्यस्तै अन्य पाँच जना यात्रु एक पटकका लागि निःशुल्क यात्राका लागि छनोट भएका छन् । जसमा तिलक रावल, विनोद चन्द, प्रवेश केसी, रितेश परियार र आकाश खड्का रहेका छन् ।

उनीहरूले एक वर्षको अवधिमा रुकुम श्री बसमा एक पटक निःशुल्क यात्रा गर्न पाउने प्रालिले जनाएको छ । बक्समा रहेका कोड नम्बर मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले तान्नुभएको थियो । प्रालिका अध्यक्ष डम्बर थापाको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रालिकाका उपाध्यक्ष रमेश गिरीले प्रालिका बारेमा जानकारी गराउँदै लक्की ड्र कार्यक्रमको उद्देश्यका बारेमा बताउनुभएको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार मनिष खड्काले गर्नुभएको थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update