Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी प्रिमियर लिगको दोस्रो संस्करण कात्तिक १३ बाट
फाइल फाेटाे ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–३ बेल्टापुमा सानीभेरी प्रिमियर लिग (एसपीएल) को दोस्रो संस्करण सञ्चालन हुने भएको छ । आयोजक सानीभेरी प्रिमियर लिग (एसपीएल) सञ्चालन समितिका अनुसार प्रतियोगिता कात्तिक १३ गतेबाट सञ्चालन हुनेछ।

क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले कात्तिक १२ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ ।

प्रतियोगिताको विजेता टोलीले एक लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ७५ हजार रुपैयाँ पाउनेछ । त्यस्तै, प्लेयर अफ द सिरिजलाई पाँच हजार रुपैयाँ तथा उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र इमर्जिङ प्लेयरलाई जनही तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । 

म्यान अफ द म्याचका लागि एक हजार पाँच सय रुपैयाँ पुरस्कारसमेत व्यवस्था गरिएको छ । प्रतियोगिता आइसिसीको नियमअनुसार सञ्चालन हुने आयोजकले जनाएको छ । खेल हार्ड लेदर बलबाट खेलाइनेछ भने खेल खुला रूपमा सञ्चालन गरिनेछ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोली तथा खेलाडीलाई निर्धारित समयभित्र टिम दर्ता गर्न आयोजकले आग्रह गरेको छ । प्रतियोगितामा सहभागिताका लागि दर्ता शुल्क ५ हजार तोकिएको छ । सानीभेरी प्रिमियर लिग एसपिएल गत वर्षबाट आयोजना हुन थालेको हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update