चोरीसम्बन्धी कसुर मुद्दाका एक फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको छ । पर्साको वीगन्ज महानगरपालिका–२१ सुकचैनास्थायी घर भएका तथा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१० मा घमण्डबहादुर बुढाको घरमा डेरा गरी बस्दै आएका १८ वर्षीय गणेश कुमार रामलाई प्रहरीले पक्राउ गरेको हो । राममाथि यहि कात्तिक ४ गते दिउँसो करिब ३ बजे घमण्डबहादुर बुढाको कोठामा राखिएको ५ लाख १५ हजार रुपैयाँ नगद तथा आठ आना सुनको तिलहरी चोरी गरी फरार भएको आरोप छ । घटनापछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वडा प्रहरी कार्यालय श्रीपुर, पर्सासँग समन्वय गरी अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा राम आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो । उहाँका अनुसार नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले चोरी गरेको स्वीकार गरेका थिए। उनको साथबाट चोरी भएको रकममध्ये २ लाख १ हजार रुपैयाँ नगद, एक थान किप्याड मोबाइल र ६ थान सिमकार्ड बरामद गरिएको छ । पक्राउ परेका रामलाई आइतबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा ल्याई सोमबार रुकुम जिल्ला अदालत, रुकुम पश्चिमबाट चोरीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।





