रुकुम पश्चिममा खेलिरहेका बालकलाई ढुंगाले हानी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । साेही ठाउँका अन्दाजी ३३ वर्षीय भक्तबहादुर नाथलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार बाँफिकोट गाउँपालिका–२, स्यालाका बलबहादुर नाथका छोरा अन्दाजी ६ वर्षीय रमेश नाथ घरनजिकै बाटोमा खेलिरहेको अवस्थामा सोही ठाउँका भक्तबहादुरले शुक्रबार ५:३० बजेतिर एक्कासि ढुङ्गाले टाउकोमा प्रहार गरेका थिए ।
ढुङ्गा प्रहारबाट बालकको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते बालकलाई तत्काल उपचारका लागि स्वास्थ्य सेवा कार्यालय सल्ले, रुकुम पश्चिम ल्याइएकाे थियो । उपचारका क्रममा शुक्रबार राति करिब १० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेकाे जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पाैडेलले जानकारी दिनुभयाे ।
घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले खोजतलास गर्ने क्रममा असोज ६ गते शुक्रबार राति करिब १० बजे बाँफिकोट गाउँपालिका–२ स्थित जङ्गलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको उहाँले बताउनुभयाे ।
पक्राउ परेका आरोपितलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिनुभयाे ।





