Kakhara सबैको खबर सम्पूर्ण खबर
किसानले दिए कृषि कार्यालयलाई निःशुल्क जग्गा
जग्गादाता खत्रीलाई सम्मान गरिँदै ।

यहाँका एक किसानले कृषि कार्यालयको लागि निःशुल्क जग्गा दान गरेका छन् । मुसीकोट नगरपालिका ३, पिपलनेटाका कृषक नरबहादुर खत्रीले कृषि विकास कार्यालयलाई ३ रोपनी जग्गा पास गरिदिनुभएको हो । कृषि विकास कार्यालयको भवन निर्माणका लागि सहज होस् भन्दै खत्रीले मंसिर ३० गते कार्यालयको नाममा जग्गा दान गर्नुभएको हो । उक्त जग्गा स्थानीय मूल्य अनुसार २२ लाखको बताइएको छ ।

जग्गा दान गर्ने कृषक खत्रीलाई बुधबार सम्मान पनि गरिएको छ । कृषि विकास कार्यालयले सम्मान पत्र र दोसल्ला सहित कृषक खत्रीलाई सम्मान गरेको हो । कर्णाली प्रदेशको भूमी,व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले खत्रीलाई सम्मान गर्नुभएको हो । कृषिलाई माया गर्ने किसानले कृषि कार्यालयलाई पनि सहयोग गर्छ माया गर्छ भन्ने उदाहरण खत्रीको योगदानबाट पुष्टि भएको मन्त्री केसीले बताउनुभयो ।

कार्यालयलाई प्राप्त जग्गामा भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनिसकेको र बजेट प्राप्त हुनासाथ भवन निर्माण सुरु हुने कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले जानकारी दिनुभयो । भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारलाई आवश्यक बजेट माग गरिएको पनि प्रमुख केसीले बताउनुभयो । भवन निर्माणका लागि साढे ६ करोडको डिपिआर बनेको छ । कृषि विकास कार्याललाई जग्गा दान गर्ने ७८ वर्षीय खत्री लामो समयदेखि व्यवसायिक कृषिमा सक्रिय हुनुहुन्छ । २०३५ सालदेखि खत्रीले ताजा तरकारी र तरकारीको बीउ उत्पादन गर्दै आउनुभएको कृषि विकास कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update