
रुकुम पश्चिममा १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड जारी छ । स्थानीय तह बनेपछि जिल्लामा पहिलो पटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गरिएको हो । शिल्ड जिल्लाकाे आठबीसकोट नगरपालिका वडा नम्वर ९ मा रहेको वालकल्याण माध्यमिक बिद्यालय राडीमा जारी छ ।
शिल्डमा विभिन्न विधामा प्रतिस्पर्धा भइरहेकाे छ । भलिबल छात्र, छात्रा, एथ्लेटिक्स अन्तरगत ट्रयाक तर्फ छात्र छात्रा १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटर दौड छ । त्यस्तै फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रिपलजम्प, छात्र ८ सय ग्राम र छात्रा ६ सय ग्राम ज्याभलिङ थ्रो, छात्र १२ पाउण्ड र छात्रा ८ पाउण्ड सटफुट खेल पनि संचालन भइरहेकाे जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
मार्सलआर्ट अन्तरगत कराते तर्फ छात्र ४२ केजी, ४७ केजी र ५२ केजी तथा छात्रा ४० केजी, ४८ केजी र ५१ केजी तौल समुहमा प्रतिस्पर्धा भइरहेकाे छ । भने तेक्वान्दो तर्फ छात्र ४५ केजी, ४८ केजी र ५१ केजी तथा छात्रा ४२ केजी ४४ केजी र ४६ केजी तौल समुहमा प्रतिस्पर्धा जारी छ ।
शिल्डमा जिल्लाका चार ओटा पालिकाकाले मात्र भाग लिएका छन् । आठबीसकोट नगरपालिका, चौरजहारी नगरपालिका र बाँफिकोट गाउँपालिकाले मात्र शिल्डमा भाग लिएकाे बताइएकाे छ । मुसीकोट नगरपालिका र त्रिबेणि गाउँपालिकाले शिल्डमा भाग लिएका छैनन् । शिल्डकाे कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले साेमबार उद्घाटन गर्नुभएको हो ।