 
                                                            रुकुमपूर्व भूमे गाउँपालिका–२ काँक्रीका श्रीमान बुढा मगरले हरेक वर्ष उजाड वन पाखामा वृक्षरोपण गर्दै आउनु भएको छ । उजाड वन पाखालाई हरियाली स्वच्छ वातावरण निर्माण गर्ने सङ्कल्पका साथ हरेक वर्षको असार/साउन महिनामा उजाड रहेको सामुदायिक वनमा वृक्षरोपण गर्दै आउनुभएको हो । वन पाखालाई हरियाली बनाउनका लागि उहाँले आफैँ नर्सरी उत्पादन गरी वृक्षरोपण गर्दै आउनु भएको छ ।
२०६९ साल देखि सामुदायिक वनको नाङ्गो वनपाखा, काँक्री स्वास्थ्य चौकी, जनजाति सङ्ग्राहालय, चौतारो लगायत ठाउँमा धूपी, देवदार, सल्लोका विरुवा रोप्ने सुरु गर्नु भएको हो । हाल उक्त वर्षमा रोपिएका विरुवा हुर्किएर स्वास्थ्य चौकी, जनजाति सङ्ग्राहलय, चौतारो तथा उजाड वन पाखामा हरियाली सजावट देखिएका छन् ।
२०६९ साल देखि हरेक वर्षको असार/साउन महिनामा विरुवा रोप्दै आउनु भएको छ । यो वर्ष पनि काठ जन्य विभिन्न प्रजातिका ६ सय वटा विरुवा रोपेको बुढा मगरले बताउनुभयो । उहाँका अनुसार ०६९ देखि ७४ साल सम्म एक हजार २ सय, ०७५/७६ मा तीन सय, ०७७/०७८ मा सात सय विरुवा रोपिएको छ । २०६९ साल देखि २०७९ साल सम्म गरी तीन हजार वटा विरुवा रोप्नु भएको छ ।
उजाड वन पाखालाई हरियाली बनाउने सङ्कल्पका साथ हरेक वर्ष वृक्षरोपण कार्यलाई निरन्तरता दिने उहाँको भनाइ रहेको छ । कुनै दिन आफू नरहे पनि समाजका लागि विरुवा रोपेका हुन् भन्ने पछिका पुस्तामा सम्म सम्झना हुने एवम् उजाड बन्दै गएको वन पाखालाई हरियाली बनाउने नै आफ्नो मुख्य उद्देश्य रहेको बुढाले बताउनुभयो ।
 


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    -1761806698.jpeg) 
                    


-1759842583.jpg)
 
                     
                     
                     
                     
                     
                    