Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमकी तिलसरा शारीरिक सुगठन च्याम्पियनसिपमा तेस्रो 

काठमाडौँमा भएको दोस्रो मिस्टर महानगर बडी विल्डिङ (शारीरिक सुगठन) च्याम्पियनसिप २०८३ मा रुकुम पश्चिमकी तिलसरा बुढाथोकी तेस्रो भएकी छन् । काठमाडौं वडा नम्बर २२ ले आयोजना गरेको प्रतियोगितामा महिला तर्फ ८ जनाले प्रतिस्पर्धा गरेकामा नेपाल आर्मीकी बुढाथोकी तेस्रो भएकी हुन् । उनी जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ बिमैचा निवासी हुन् । उनी हाल नेपाल आर्मीमा आबद्ध छिन् ।

प्रतियोगिता काठमाडौँमा अवस्थित राष्ट्रिय सभागृहमा भएको थियो । यो सफलताले आफूलाई थप उत्साहित बनाएको र हौसला थपिएको बुढाथोकीले बताउनुभयो । नेपालको सन्दर्भमा छोरी मान्छे शारीरिक सुगठनमा लाग्ने सहज वातावरण नभएको र लाग्दा समाजले हेर्ने नजर फरक भए पनि आफ्नो इच्छा अनुसार यसमा आकर्षित भएको उहाँको भनाई छ ।

6314073d-d716-4d74-a545-262bcb43771f-1781417080.jpeg

रुकुमबाट नेपाल आर्मी हुँदै यहाँसम्मको यात्रा सजिलो भने नरहेको उहाँले बताउनुभयो । अहिले पनि छोरीलाई विभेदकारी नजरले हेर्ने गरिएको भए पनि आफूले त्यसलाई केही हदसम्म तोड्न सफल भएको उहाँको बुझाई छ ।  प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तेस्राे स्थान प्राप्त गरेपछि प्रशिक्षक रमेश लिम्बुले  बधाई व्यक्त गर्दै छोटो समयको तयारीमै प्राप्त यो सफलता बुढाथोकीको लागि कडा मेहनत, अनुशासन र समर्पणको परिणाम भएको बताउनुभएको छ । आफ्नो पहिलो प्रतियोगितामा उत्कष्ट प्रदर्शन गर्दै बलिया प्रतिस्पर्धीका विच तेस्रो स्थान हासिल गरेकाेमा प्रशिक्षक लिम्बुले खुसी व्यक्त गर्नुभएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update