Kakhara सबैको खबर सम्पूर्ण खबर
१४ वर्षको उमेरदेखि राजनीतिमा, जनयुद्धदेखि मन्त्रीसम्मः मिलनकाे राजनीतिक यात्रा

रुकुम पश्चिमकी मिलन खड्का रोकाको राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि सुरु भएर कर्णाली प्रदेश सरकारको मन्त्रीसम्म पुगेको छ । १४ वर्षको उमेरमा राजनीतिमा प्रवेश गर्नुभएकी खड्का रोका जनयुद्धका क्रममा श्रीमान् गुमाए पनि राजनीतिक संघर्षलाई निरन्तरता दिँदै विभिन्न संगठनात्मक जिम्मेवारी सम्हाल्नुभयो । २०७९ मा रुकुम पश्चिमबाट कर्णाली प्रदेशसभा सदस्य निर्वाचित हुनुभएकी उहाँ २०८३ भदौ ११ गते कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बन्नुभएको हो ।

मिलन खड्का रोका: संक्षिप्त परिचय

नाम: मिलन खड्का रोका
जन्मस्थान: सानीभेरी गाउँपालिका–९, राङ्जा, रुकुम पश्चिम
स्थायी ठेगाना: मुसिकोट नगरपालिका–१३, लामाडाँडा, रुकुम पश्चिम
जन्ममिति: २०३२ फागुन ८ गते
बुवा: दिर्गु खड्का
आमा: बर्नी खड्का

राजनीतिक तथा सामाजिक जीवन
मिलन खड्का रोकाले १४ वर्षको उमेरमा, २०४५ सालदेखि नै विद्यार्थी सङ्गठनमार्फत राजनीतिक यात्रा सुरु गर्नुभएको हो। कक्षा ६ मा अध्ययनरत रहँदा राप्ती ज्ञानोदय माध्यमिक विद्यालय, सिम्लीमा विद्यार्थी सङ्गठनको इकाई सदस्यका रूपमा उहाँको राजनीतिक सक्रियता प्रारम्भ भएको थियो ।

२०५३ सालमा तत्कालीन नेकपा (माओवादी)को पार्टी सदस्यता प्राप्त गरेपछि उहाँ पूर्ण रूपमा राजनीतिक गतिविधिमा सक्रिय हुनुभयो । २०५४ सालमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सिम्ली, गरायला, अर्मा, पुर्तिमकाँडा र घेत्मा क्षेत्र समेटिएको एरिया कमिटीको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो ।

२०५३ देखि २०५५ भदौसम्म जनसहयोग प्राथमिक विद्यालय, माथिल्लो अमडाँडामा अध्यापन गर्नुभएका उहाँ विद्यालयमा कार्यरत रहेकै बेला प्रहरीले पक्राउ गर्न खोजेपछि सात महिनाको गर्भावस्थामै विद्यालय छाडेर २०५५ भदौ ४ गतेदेखि पार्टीको पूर्णकालीन कार्यकर्ता बन्नुभयो ।

पूर्णकालीन राजनीतिक कार्यकर्ता बनेको करिब दुई महिनापछि २०५५ कात्तिक २ गते सिम्लीको फुक्रुटाकुरामा उहाँका श्रीमान् टिकाराम ओलीसहित केही व्यक्तिको प्रहरीद्वारा सामूहिक हत्या भएको थियो। त्यसपछि उहाँले भूमिगत राजनीतिक जीवनलाई निरन्तरता दिँदै विभिन्न सङ्गठनात्मक जिम्मेवारी सम्हाल्नुभयो ।

२०५५ देखि २०५७ सम्म पुर्तिमकाँडा र अर्मा गाविसको पार्टी इन्चार्ज, २०५६ देखि २०५८ सम्म अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को जिल्ला सदस्य, कोषाध्यक्ष, सचिव हुँदै उपाध्यक्ष तथा २०५८ देखि २०६१ सम्म जिल्ला अध्यक्षको जिम्मेवारीमा रहनुभयो ।

पार्टीको सैन्य अभियानअन्तर्गत २०६१ मंसिरमा पाल्पा सरुवा हुनुभएका उहाँले २०६३ चैतसम्म पाल्पामा पार्टीको जिल्ला सचिवालय सदस्य तथा एरिया इन्चार्जको जिम्मेवारी निर्वाह गर्नुभयो । सोही अवधिमा अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्यका रूपमा सल्यान र रुकुम जिल्ला इन्चार्जको जिम्मेवारीसमेत सम्हाल्नुभयो ।

२०६४ असोजमा नेकपा (माओवादी)को मगरात राज्य समिति सदस्य बन्नुभएका खड्का रोका २०६८ सालमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय सदस्य बन्नुभयो र २०७६ सम्म रुकुम जिल्ला इन्चार्जका रूपमा काम गर्नुभयो ।

२०७८ मंसिरमा नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेश सदस्य बन्नुभएका उहाँले राजनीतिक जीवन सुरु गरेको ३४ वर्षपछि २०७९ मंसिरमा रुकुम पश्चिमबाट कर्णाली प्रदेश सभा सदस्यका रूपमा निर्वाचित (समानुपातिक) हुनुभयो ।

२०८२ कात्तिकदेखि नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यका रूपमा सक्रिय रहनुभएका मिलन खड्का रोका २०८३ भदौ ११ गते कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बन्नुभएको हो ।

विद्यार्थी राजनीतिबाट सुरु भएको उहाँको राजनीतिक यात्रा पार्टी सङ्गठन, महिला आन्दोलन, किसान सङ्गठन, भूमिगत राजनीतिक सङ्घर्ष हुँदै प्रदेशसभा सदस्य र प्रदेश सरकारको मन्त्रीसम्म पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update