विश्वब्यापी रुपमा आँखा सुख्खा हुने समस्या आम रुपमा बढ्दै गइरहेको छ। यसरी आँखा सुख्खा हुने समस्यालाई 'ड्राई आई सिन्ड्रोम' भनिन्छ । खासगरि वायु प्रदूषण, आधुनिक उपकरणको वढ्दो प्रयोग (जस्तै:कम्प्युटर, ल्यापटप, मोवाइलको स्क्रिन, तातो (सुख्खा) हावा, आँशुको उत्पादनमा कमि हुनु, विभिन्न विकिरणहरु, आँखामा हुने संक्रममण आदि आँखा सुख्खा हुने मुख्य कारण हुन।
समग्रमा हाम्रो आँखामा आँशुको तीन तह हुन्छ, क्रमश: वाहिरबाट भित्र, चिल्लो तह (लिपिड तह), पानी तह (एक्वस तह) र पातलो झिल्लि तह (म्युकस तह) जुन सुक्ष्म रुपमा आँखाको कर्निया तथा कग्ङजक्टिभा अगाडि म्युकस तहको सहायताले टाँस्सिएर बसेको हुन्छ । जुनसुकै कारणबाट यि तीन तहको सन्तुलन खराब हुन गएमा आँखा सुख्खा हुने समस्या देखिन्छ। यो एक अर्थमा आँखाको नसर्ने भयावह रोग हो ।
आँखा सुख्खा छ ? कसरी थाहा पाउने (लक्षण)
- दिउसो पख आँखा रातो हुनु
- चहकिलो घाममा हेर्न नसक्नु
- आँखा चिलाउनु
- आँखा पिरो हुनु वा पोले जस्तो हुनु
- आँखामा केही विझे जस्तो हुनु
- विना कारण आँखावाट पानी बग्नु
- आँखामा थकान महसुस हुनु
- आँखा चिम्लिरहन मन पर्ने
- चिप्प्रा लाग्ने र च्यापच्याप हुने
- प्याज काट्दा आसु नवग्ने
फरक व्यक्तिमा भिन्न-भिन्न लक्षण देखिन सक्छ।
किन आँखा सुख्खा हुन्छ त ? कारण !
- वढ्दो उमेर संगै आँशुको उत्पादनमा कमि आउने गर्छ । विषेशत ५० वर्ष माथि उमेरका मानिसमा आँशु उत्पादनमा कमि हुने गर्छ र आँखा सुख्खा हुने गर्छ ।
- महिलाहरुमा महिनावारी रोकिएसंगै आउने हर्मोनल गडवडिका कारण पनि आँखा सुख्खा हुने समस्या देखिन्छ ।
- भिटामिन 'ए' को कमि, वाथ रोग, मधुमेह, थाइराइड, उच्च रक्तचाप जस्ता शारीरिक समस्याका मारण पनि आँखा सुख्खा हुन्छ ।
- पर्याप्त पोषणको कमि तथा धुम्रपान सेवनले गर्दा पनि आँखा सुख्खा हुन सक्छ ।
- आँशु ग्रन्थिमा क्षति भएमा र लामो समयसम्म आँखामा विभिन्न औषधिको प्रयोगले आँखा सुख्खा हुने समस्या देखिन सक्छ ।
- परेलिमा हुने ग्रन्थिको समस्या, परेलिमा चाया पर्ने समस्या, तल्लो परेलि वाहिर फर्कने समस्या, गाजल तथा सौन्दर्य सामग्रीको अत्याधिक प्रयोगले पनि आँखा सुख्खा हुने समस्या देखिन्छ ।
- तातो तथा तिव्र हावा बग्ने ठाउँमा बस्दा पनि आँखा सुख्खा हुन सक्छ।
- लामो समयसम्म किताव पढ्ने, कम्प्युटर, ल्यापटप, मोवाइल आँखा नझिम्काई लामो समयसम्म एकनाशले हेर्नाले पनि आँखा सुख्खा हुनसक्छ ।
- रात्रिको समयमा काम गर्दा पर्याप्त निन्द्राको अभावको कारणले पनि आँखा सुख्खा हुन सक्छ ।
- लामो समयसम्म कन्ट्याक लेन्सको प्रयोगले पनि आँखा सुख्खा हुने समस्या हुन सक्छ ।
- साथै वातावरणीय प्रदुषण, विकिरण तथा तापक्रम वृद्धिले पनि आँखा सुख्खा हुने समस्या हुन सक्छ ।
सुख्खा आँखाबाट जोगिने उपायहरु (रोकथाम तथा उपचार)
- सर्वप्रथम माथि उल्लेखित जोखिमका कारणहरुबाट सावधानी अपनाउनु नै उत्तम हुन्छ ।
- सकभर डिजिटल स्क्रिन जस्तै: मोवाइल, कम्प्युटर, ल्यापटपको लतवाट टाढा रहने।
- यदि आफ्नो पेशा कम्प्युटरसँग सम्वन्धित हो भने कम्प्युटरको बसाइलाई व्यवस्थापन गर्नु नै सबै भन्दा ठुलो रोकथामको उपाय हुन्छ । जस्तै: कामको विचविचमा आराम गर्ने, हिड्डुल गर्ने, आँखाको चिम्लने र खोल्ने गतिलाई नियमित र स्वाभाविक राख्ने, पानी तथा रसजन्यफलफूलको उपभोग गर्ने ।
- यदि कम्प्युटरमा लगातार काम गर्ने नै हो भने २०-२०-२० नियम लागु गर्ने, जस्को अर्थ; कम्प्युटरमा काम गर्दा २० मिनेटको समयअवधिमा २० सेकेन्डको आराम लिई २० फिट टाढाको बस्तु हेर्ने/चियाउने र सकभर वुलुकट लेन्स वा एण्टिग्लेयर लेन्स चस्माको रुपमा प्रयाेग गर्ने ।
- आँखामा अत्यन्त धेरै जलन भएमा सफा सुतिको कपडालाई चिसो पानीमा भिजाई आँखा छोप्ने ।
- धुम्रपान त्याग्ने, तातो विषाक्त तथा प्रदुषित हावाबाट टाढा रहने ।
- चर्को घाम तथा धुँवाबाट बच्न सनग्लासको (कालो चस्माको) प्रयोग गर्ने ।
- कृतिम आँशुको प्रयोगले सुख्खा आँखा हुनवाट केहि हदसम्म कम गर्छ ।
- नियमित रुपमा आँखा जाँच गराउने र चिकित्सकको सल्लाह अनुसार उपचार विधिहरु अपनाउने ।
आँखा चिलाउदा, पिरो हुँदा, रातो हुँदा, केहि बिझाए जस्तो हुँदा आँफु खुसी औषधि र घरेलु उपाएको प्रयोग नगरौ र नगराउँ । के थाहा हजुर पनि सुख्खा आँखा ('ड्राई आई सिन्ड्रोम') बाट ग्रसित हुनुहुन्छ कि, एक पटक अवस्य चिकित्सकको सल्लाह लिनुहोला । आँफु सुरक्षित रहौं र अरुलाई पनि सुरक्षित राखौँ, साथै दृष्टिविहिन हुन बाट बचौँ र बचाउँ ।
हजुरको दृष्टि, हाम्रो प्रतिवद्धता !
मन्दिप गौतम
दृष्टि विशेषज्ञ (Optometrist)
आँखा स्वास्थ्य सेवा तथा चस्मा घर
(आँखा उपचार केन्द्र)
मुसिकोट नगरपालिका, १ - खलंगा रुकुम (पश्चिम)