
नेकपा माओवादी केन्द्रका २ सङ्गठन याेङ्ग कम्युनिस्ट लिग वाइसीएल नेपाल र अखिल क्रान्तिकारी रुकुम पश्चिमले पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेलाई कारबाहीको माग गरेका छन् ।
आज जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै २ सङ्गठनले कारबाहीको माग गरेका हुन् । सुवेदी र न्यौपानेले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध दुई वटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइयो भन्ने झुटा, तथ्यहीन र कपोकल्पित नियोजित प्रचार गरेको भन्दै कारबाहीको माग गरेका हुन् ।
यो आरोप पूर्ण रूपमा भ्रामक तथ्यहीन र राजनीतिक प्रतिशोध राखेर गरिएको हो, अन्यथा आरोप प्रमाणित गर्ने दायित्व सम्बन्धित व्यक्तिको हो । प्रमाणित नहुने आरोप लगाई जनतालाई भ्रमित पार्नु, पार्टी सङ्गठन र नेतृत्वविरुद्ध चरित्रहत्या गर्नु तथा सर्वसाधारणलाई उत्तेजित गर्नु गम्भीर आपराधिक गतिविधि हो, २ सङ्गठनले बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।
झुटा र तथ्यहीन प्रचार गर्ने व्यक्तिहरूमाथि निष्पक्ष छानबिन गरी तुरुन्त कानुनी कारबाही गर्न, सङ्गठन र नेतृत्वमाथि राजनीतिक प्रतिशोधका जनधारमा धम्क्याउने, तर्साउने र ह्यारेस गर्ने काम नगर्न माग गर्दै यदि यस्ता अन्यायपूर्ण गतिविधि तुरुन्त रोकिएन भने युवा, विद्यार्थी सङ्गठन संयुक्त रूपमा आन्दोलन र प्रतिरोधका कार्यक्रमहरूमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ ।
साथै दुई सङ्गठनले सत्यलाई तोडमोड गरी भ्रम सिर्जना गर्ने कुनै पनि प्रयास सह्य नहुने वाइसीएलका जिल्ला अध्यक्ष लालबहादुर कटुवाल र अखिल क्रान्तिकारीका जिल्ला संयोजक किरण विश्वकर्माद्वारा हस्ताक्षरित ज्ञापन पत्रमार्फत स्पष्ट पारिएको छ ।
वाइसीएल र अखिल क्रान्तिकारीले प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीलाई ज्ञापन पत्र बुझाएका हुन् ।