Kakhara सबैको खबर सम्पूर्ण खबर
विश्वविद्यालय र छात्रवृत्ति

त्रिभुवन विश्वविद्यालय आर्थिक व्यवस्थापन तथा सञ्चय कोष सम्बन्धी नियम २०५० को नियम ४६ र त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम ३९७ ले दिएको अधिकार प्रयोग गरी त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले बनाएको कार्य निर्देशिका छात्रवृत्ति र पुरस्कार तथा पदक सम्बन्धी कार्य निर्देशिका बनाइएको छ । यस कार्य निर्देशिका अनुसार जेहनदार छात्र छात्रालाई निःशुल्क गरी दुई किसिमको छात्रवृत्ति दिने व्यवस्था गरिएको छ। त्रिभुवन विश्वविद्यालयको नियमअनुसार कुनै पनि क्याम्पसमा भर्नाको १० प्रतिशतलाई छात्रवृत्ति प्रदान गर्ने नियम छ तर धेरै जसो क्याम्पसले यो नियम पालना गरिएको देखिँदैन । पालना गरिएको छ भने पनि आ ना मान्छे, केही सीमित व्यक्तिसँग सम्बन्धित मान्छेहरूलाई मात्र प्रदान गरिएको देखिन्छ। यस्ता त्रिविका नियम विपरीतका कार्यलाई सबै नियमनकारी संस्था, विद्यार्थी सङ्घ सङ्गठन तथा स्वतन्त्र विद्यार्थी युनियनले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

क) जेहनदार छात्रवृत्ति
जेहनदार छात्रवृत्ति भन्नाले उत्कृष्ट नतिजा प्राप्त विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्ति बुझिन्छ र यस किसिमको छात्रवृत्ति पाउने विद्यार्थीले प्रथम सेमेस्टरमा छनौट परीक्षामा उत्कृष्ट अङ्क ल्याउनु पर्छ भने त्यसपछि प्रत्येक सेमेस्टर अथवा वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउनु पर्छ र यस पद्धतिमा अनिवार्य रूपमा छात्र र छात्रालाई छुट्टाछुट्टै छात्रवृत्ति दिनुपर्छ ।

ख) निःशुल्क छात्रवृत्ति
निःशुल्क छात्रवृत्ति भन्नाले त्रिभुवन विश्वविद्यालयको नियमित र शुल्क तिरी भर्ना हुने विद्यार्थीहरूमध्ये एस.एल.सी./एसइई सरकारी सामुदायिक विद्यालयहरूमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन गर्न सकिने छात्रवृत्ति हो र निःशुल्क छात्रवृत्ति पाउने सत्यलाई सात प्रतिशत गणना गर्दा त्यसको पचास प्रतिशत खुला र पचास प्रतिशत आरक्षण कोटामा राखिनेछ ।

सरकारी खुल्लातर्फ (५० प्रतिशत) निःशुल्क छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीले सरकारी सामुदायिक विद्यालयबाट एस.एल.सी. एस.ई.ई. उत्तीर्ण गरेको हुनुपर्नेछ । स्नातकोत्तर कार्यक्रमका लागि सरकारी सामुदायिक विद्यालयबाट एस.एल.सी. गरी आङ्गिक वा सामुदायिक क्याम्पसबाट स्नातक गरेको हुनुपर्नेछ । आरक्षणतर्फ (५० प्रतिशत) महिला, जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएका क्षेत्र, मुस्लिम, थारु र अन्य सहिद परिवार, जनआन्दोलन घाइते विद्यार्थीहरूका लागि निःशुल्क छात्रवृत्ति मेरिटका आधारमा प्रदान गरिनेछ र यस्तो छात्रवृत्तिका लागि पनि खुला तर्फ कै सर्तहरू लागू हुनेछ । 

त्रिभुवन विश्वविद्यालयमा अरू दुई किसिमका छात्रवृत्ति पनि दिने गरिएको छ दाताहरूबाट प्रदान गरिने छात्रवृत्ति र दृष्टि विहीन विद्यार्थी छात्रवृत्ति रहेको छ र आङ्गिक र केन्द्रीय क्याम्पसको लागि छुट्टै नियम र सामुदायिक र सम्बन्धन क्याम्पसको लागि छुट्टाछुट्टै नियम रहेको छ र निःशुल्क छात्रवृत्तिमा कुल विद्यार्थीको १०% विद्यार्थीलाई अनिवार्य रूपमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसले छात्रवृत्ति दिनुपर्छ । छात्रवृत्ति पाउने विद्यार्थीले परीक्षा शुल्क टि.यु. सेवा शुल्क र रजिस्ट्रेसन शुल्क बाहेक अरू अन्य शुल्क केही बुझाउनु पर्दैन ।

त्रिभुवन विश्वविद्यालयले छात्रवृत्ति प्रदान गर्दै गर्दा यश सम्बन्धी केही नियमहरू पनि बनाएको छ त्यस नियमभन्दा अन्यथा भएको खण्डमा स्वतः छात्रवृत्ति खारेज हुन्छ र कुनै पनि छात्रवृत्ति प्राप्त विद्यार्थी अर्को क्याम्पस स्थानान्तरण भएमा उसले पाएको छात्रवृत्ति कायम हुनेछैन । नियमित शुल्कमा भर्ना भएका विद्यार्थी सोही कोटाको रिक्त हुन आएको स्थानमा स्थानान्तरण भएमा मात्र निजको नियमित शुल्क कायम हुनेछ ।

निर्धारित विद्यार्थी कोटा खाली नभई कुनै पनि क्याम्पसले अर्को क्याम्पसबाट विद्यार्थी स्थानान्तरण लिन पाउनेछैन आरक्षण तर्फको छात्रवृत्ति प्राप्त गर्न नेपाल सरकारले तोकेको निकायबाट सोका लागि आवश्यक प्रमाण पेस गर्नुपर्नेछ । जुन मर्ममा आधारित भएर छात्रवृत्ति प्रदान गर्ने गरिएको छ, त्यो मर्म अनुसार काम भएको देखिँदैन र छात्रवृत्तिमा पनि व्यापक अनियमितता भएको देखिन्छ । यसको विरोध मैले निरन्तर गरिरहेको छु । विश्व विद्यालय अनुदान आयोगमा आवाज उठाइरहेको छु । धेरै विद्यार्थीहरूले छात्रवृत्ति पनि प्राप्त गरेका छन् । मेराे लक्ष विद्यार्थीको सारथि बन्ने हो । 

लेखक नेविसंघ रुकुम पश्चिमका नेता हुनुहुन्छ ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update