Kakhara सबैको खबर सम्पूर्ण खबर
देशभरका सय गन्तव्यमा पर्न सफल चित्रिपाटनलाई चिनाउन म्याराथन हुने 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ४, ५, ६ र २ मा पर्ने चित्रिपाटनलाई चिनाउन म्याराथन हुने भएको छ । नेपाल सरकारले घोषणा गरेका देशका एक सय पर्यटकीय गन्तव्य मध्येको एक चित्रिपाटनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले म्याराथन दौड आयोजना गरिएको हो । आठबिसकोट नगरपालिका र वडा नम्बर ४ तथा ५ संरक्षक रहेको म्याराथन व्यवस्थापन समितिले कार्तिक १८ गते म्याराथनको आयोजना गरेको हो ।

यो म्याराथनलाई साहसिक म्याराथनका रूपमा हेरिएको छ । यसको दुरी ३० किलोमिटर बढी हुने आठबिसकोट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष घनश्याम भण्डारीले जानकारी दिनुभयो । वडा नम्बर ४ को गोतामकोट चौतारा देखि सुरु हुने प्रथम साहसिक चित्रिपाटन म्याराथन वडा नम्बर ५ को नयाँ डाँडा हुँदै चित्रिपाटन तेस्रा खोला मन्दिरसम्म पुगेर बुराउँसेबाट चौतारा झरेर सकिने उहाँले बताउनुभयो ।

म्याराथनको विजेताले १ लाख नगद पुरस्कार पाउँदा दोस्रो हुनेले ७५ हजार तथा तेस्रो हुनेले ५० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै १० औँ स्थानसम्म रहनेलाई जनही ५ हजारको व्यवस्था गरिएको छ । म्याराथन सञ्चालनका लागि नगरपालिका र वडाहरूले पनि बजेटको व्यवस्थापन गरेका छन् भने सहयोगका लागि सार्वजनिक अपिल समेत गरिएको छ ।

धार्मिक तथा पर्यटकीय स्थल चित्रिपाटनको प्रचार प्रसार गरी चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको वडाध्यक्ष भण्डारीको भनाई छ । सङ्घीय सरकारले सय गन्तव्य स्थलमा राखे पनि यो स्थानको खासै चर्चा तथा प्रचार प्रसार हुन सकिरहेको छैन । यो क्षेत्रमा कस्तुरी, झारल, डाँफे, बँदेल लगायतका जङ्गली जनावर तथा पक्षी पाइन्छन् । रुकुम पश्चिमको सबैभन्दा अग्लो स्थानमा पर्ने यस ठाउँको उचाइ ४ हजार ७ सय मिटर छ ।

नेपालभरका ओलीहरूको कुल देउता यसै ठाउँबाट उत्पत्ति भएको मानिन्छ । चित्रलेखी मान्नेहरूले यस ठाउँलाई पवित्र स्थानका रूपमा पुज्ने र मान्ने गर्छन् । त्यस्तै अन्य समुदायले यहाँ सिद्ध देउताको पूजाआरधना गर्ने गर्छन् । यहाँ सिद्धको मन्दिर समेत स्थापना गरिएको छ । धार्मिक रूपमा पवित्र स्थानका रूपमा रहेको यो ठाउँ समग्र पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेको भए पनि यो स्थान ओझेलमा परेको छ ।

यसैका लागि म्याराथन आयोजना गरिएको बताइएको छ । स्थानीय सरकार बनेपछि यहाँ विभिन्न संरचनाहरू निर्माण गरिएका छन् । नयाँ डाँडाबाट चित्रिपाटनसम्म पुग्न ७ सय ५० वटा सिँढी निर्माण गरिएको छ भने मन्दिर निर्माण, खानेपानीको व्यवस्थापनका साथै सुन्दर प्रवेशद्वार समेत निर्माण गरिएको छ । नयाँ डाँडासम्म गाडीमा पुग्न सक्ने व्यवस्था छ भने त्यहाँबाट पैदल ४ घण्टामा चित्रिपाटनसम्म पुग्न सकिने वडाध्यक्ष भण्डारीको भनाई छ ।

यहाँ पछिल्लो पटक आन्तरिक पर्यटकहरूको उपस्थिति भने बढ्दो क्रममा रहेको छ । धार्मिक तथा पर्यटकीय यात्रा गर्नेहरूको सङ्ख्या बढेको र यो प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति बढाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update