रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रकाश खत्रीले सडक मर्मतका लागि गाउँपालिकालाई अनुरोध गर्नुभएको छ । उहाँले रुकुम पूर्वको सिस्ने गाउँपालिका ३ सँग सीमा जोडिएको बाँफिकोट गाउँपालिका वडा नम्बर १ देखि वडा नम्बर ४ को छिनखेतसम्मको सडक मर्मतका लागि आफै सहभागी सरकारलाई अनुरोध गर्नुभएको हो ।
पालिकाले विनियोजन गरेको रकमबाट सडक मर्मतको काम भइसकेको भए पनि मर्मत गरेपश्चात् वर्षाको कारण सडक फेरि मर्मत गर्नुपर्ने भएको उहाँले फेसबुकमा लेख्नुभएको छ । अहिले मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट देखि रुकुमकोट खण्ड बन्द भएकोले उक्त खण्डको विकल्पका रूपमा यो सडक प्रयोग गरिएकोले तत्काल मर्मतको आवश्यकता रहेको उहाँको भनाई छ ।
छिनखेत देखि दुई जिल्लाको सीमा स्थलसम्मको सडक सहित मोड चौडा बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ । कार्यपालिकामा निरन्तरको प्रयासले परिणाम नआएपछि सामाजिक सञ्जाल मार्फत अनुरोध गर्न बाध्य भएको छु, सडक मर्मतको काम व्यक्तिको जस्तो नगरौँ, सबैलाई चाहिने हो, मूलतः यात्रुहरूको सुरक्षालाई मध्यनजर गरेर तत्काल मर्मत गर्न आग्रह तथा हामीलाई निर्देशको अपेक्षा राखेका छौँ, उहाँले लेख्नुभएको छ ।
मध्यपहाडी लोकमार्गको मुसिकोट–रुकुमकोट खण्डको विकल्पका रूपमा यस सडकलाई प्रयोग गरिएको छ भने यस सडकमा ठुला सवारी साधन सञ्चालन भइरहेका छन् । साथै वडाध्यक्ष खत्रीले यस सडकका लागि कर्णाली प्रदेश सरकारद्वारा विनियोजित ३ करोड ७५ लाखको ठेक्का बहु वर्षीय नबनाएर एक वर्षीय बनाई यसै वर्ष बजेट अनुसारको काम हुनेगरी काम गराउन पूर्वाधार विकास कार्यालयलाई अनुरोध समेत गर्नुभएको छ ।





-1759842583.jpg)