Kakhara सबैको खबर सम्पूर्ण खबर
जनताका अधिकारमाथि हस्तक्षेप भए फेरि जाइलाग्न तयार छौँ: प्रभाकर 

नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्मा प्रभाकरले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता तथा जनताको अधिकार माथि हस्तक्षेप गर्न खोजे फेरि जाई लाग्न तयार रहेको बताउनुभएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्मामा बिहीबार सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्दै सङ्घीयता, समावेशिता र समानुपातिकता माथि कसैले हस्तक्षेप गर्न खोजे रुकुम त्यसका विरुद्ध जाई लाग्न  तयार रहेको बताउनुभएको हो । 

हिजोको रुकुम हेपिएको थियो, थिचिएको थियो, अत्याचार गरिएको थियो, अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डले अत्याचारको विरुद्ध  झन्डा उठाउनुभयो, त्यसमा रुकुमको जनताले साथ थियो, अन्यायका विरुद्ध विद्रोह गर्‍यो, झन्डा उठायो र त्यो विद्रोहको बलिदानी मा रुकुम पनि सामेल भयो, विद्रोह गरेर ल्याएको व्यवस्था माथि कसैले हमला बोल्छ भने त्यो सह्य हुँदैन उहाँले भन्नुभयो । 

निरङ्कुश राजतन्त्र फाल्न रुकुमका जनताको ठुलो योगदान रहेको छ, ५ सय  भन्दा बढी व्यक्ति सहिद हुनुभएको छ, रुकुम हेर्दा झुत्रे झाम्रे देखिन्छ, रुकुमका डाँडा पाखामा गरिबी र  बेरोजगारीको  समस्या छ, तर यहाँका जनतामा प्रचण्ड पथ र परिवर्तनको आवाज हराएको छैन, उहाँले थप्नुभयो । 

साथै उहाँले रुकुम एकजुट रहेको र रुकुमलाई कसैले पनि टुटाउन नसक्ने दाबी गर्नुभयो । रुकुमलाई हरेक पटक टुटाउन र विकेन्द्रित गर्न कोसिस भए, तर हामीलाई कसैले टुटाउन सकेका छैनन्, हामी एकताबद्ध छौँ, यसलाई टुटाउन र फुटाउन कसैले सक्ने छैन, म अध्यक्ष कमरेड प्रचण्ड मार्फत देशलाई सन्देश दिन चाहन्छु रुकुम कहिले टुट्ने छैन, उहाँले भन्नुभयो ।

विभिन्न मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसक्नुभएका उपमहासचिव शर्माले रुकुम र माओवादीलाई डाहा गर्नेहरू धेरै रहेको पनि बताउनुभयो । आज हरेक परिवर्तनको लागि रुकुमेली जनताको लागि अग्रणी भूमिका खेल्ने जनप्रतिनिधि हुनुहुन्छ, हामीलाई डाहा गर्नेहरू छन्, हाम्रो तागतलाई मन नपराउनेहरू छन्, उहाँले भन्नुभयो–नेतृत्व विकासको कुरा हो हामी यसलाई भत्किन दिँदैनौ, हामी  आफ्नो लक्ष्यमा हलचल नगरेर अगाडी  बढिरहन्छौँ ।

रुकुमले हिजो देखि आजसम्म देश परिवर्तनको नेतृत्व गरिरहेको र भोलीका दिनमा पनि त्यसमा कमी नहुने समेत उहाँको ठोकुवा थियो ।। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update