Kakhara सबैको खबर सम्पूर्ण खबर

प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्माले राहत सामग्री बोकेको ट्रक कब्जा गरेको पुष्टि गर्न कान्तिपुर दैनिकलाई चुनौती दिनुभएको छ । जाजरकोटका लागि पठाइएको राहत सामग्री बोकेको ट्रक हाई ज्याक गरेर जनार्दनले रुकुम लगेको भन्दै आज कान्तिपुरले समाचार प्रकाशन गरेपछि पूर्व मन्त्री शर्माले पत्रकार सम्मेलनको आयोजना गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिनुभएको हो ।

‘यो मेरा लागि कल्पना गर्नै नसकिने विषय हो, दुःखको यो विषम परिस्थितिमा मैले जाजरकोटका लागि पनि राहतका लागि सहजीकरण गरेको छु, सबै पीडित मेरा लागि समान हुन, उहाँले भन्नुभयो–म कान्तिपुरलाई चुनौती दिन्छु, कति सोलार मैले कब्जा गरेँ र कहाँ लिएर बाँडे त्यो पुष्टि गरोस् ।’

आफू अर्थमन्त्री हुँदै देखि कान्तिपुर आफ्ना विरुद्धमा लाग्न सुरु गरेको उहाँले जानकारी गराउनुभयो । यो कान्तिपुरको ब्ल्याकमेलिङ बाहेक अरू केही नरहेको उहाँको दाबी छ । ‘म अर्थमन्त्री हुँदै कान्तिपुरका सञ्चालक कैलाश सिरोहिया मन्त्रालयमा आउनुभएको थियो, स्टक एक्सचेन्जको माग गर्नुभएको थियो, मैले प्रक्रिया अनुसार हुन्छ, प्रक्रिया अनुसार आउनुहाेला भनेको थिएँ, त्यसपछि कान्तिपुर मेरो राजनीतिक तथा व्यक्तिगत चरित्र हत्या गर्ने गरी कपोकल्पित समाचार प्रकाशनमा लागेको छ, मेरा विरुद्ध ६ वटा सम्पादकीय लेख्यो, म उसले गल्ती महसुस गर्ला नि त भनेर अहिलेसम्म चुप लागे, अब त अति भयो, कान्तिपुरका हरेक कर्तुतबारे बोल्छ उहाँले भन्नुभयो ।’

उहाँले कपाेलकल्पित समाचार नलेख्न चेतावनी पनि दिनुभएकाे छ । सत्य हाे भने लेख्न पाइने र आफ्ना बारे पनि केही सत्य भेटिन्छन भने लेख्न उहाँ आग्रह समेत गर्नुभयाे । जिल्लामा सोलारको आवश्यकता नै नरहेको उहाँले बताउनुभयो । ‘रुकुममा सोलारको आवश्यकता नै छैन, किन अपहरण गरी गरी बाँड्नुपर्‍यो,’ उहाँले भन्नुभयो । जिल्लामा राहत व्यवस्थापन व्यवस्थित बन्दै गएको देख्न नसकेर कान्तिपुरले अनुमान गरेर समाचार लेखेको समेत उहाँले आरोप लगाउनुभयो ।   

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update