नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले पार्टी फुटाउन लागेको भन्दै पार्टी हेडक्वाटरबाटै हल्ला फैलाइएको आरोप लगाउनुभएको छ । शनिवार रुकुम-काठमाडौँ समन्वय समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डकै अघि उहाँले यस्तो कदमले पार्टीको हित नगर्ने बताउनुभयो । उहाँले आफूमाथि पार्टी विभाजन गर्न खोजेको आरोप पार्टी हेडक्वार्टरबाट आएको जिकिर गर्दै अध्यक्ष दाहाल आफैँले त्यसको सार्वजनिक रूपमा खण्डन गर्नुपर्ने माग पनि गर्नुभयो ।
'म हेर्दा दलाल जस्तो छु ? म पार्टी फुटाउने जस्तो छु ? म १४ वर्ष हुँदा देखि लागेको पार्टी किन फुटाउँछु, मैले यो पार्टीमा योगदान गरेको ४८ वर्ष भयो, तपाइहरूलाई यो पार्टीको जति माया छ त्यति माया मलाई पनि छ,' उहाँले भन्नुभयो । साथै उहाँले आफूलाई अहिलेसम्म पार्टी नेतृत्वले माओवादी नमानेको गुनासो पनि गर्नुभयो । 'अध्यक्षकै निर्देशनमा म एमालेसँग पार्टी एकता गर्न लागेँ मलाई एमाले देखियो, अध्यक्षकै निर्देशनमा काँग्रेससँग गठबन्धनका लागि सक्रिय भएँ मलाई काँग्रेस देखियो, म यो आन्दोलनमा लागेको, माओवादी बनाउन लागेको ४८ वर्ष भयो, मलाई कहिले पनि माओवादी देखिएन, म कहिले माओवादी हुन्छु ? उहाँले प्रश्न गर्नुभयो ।'
त्यस्तै उपमहासचिव शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको समेत बताउनुभएको छ । पार्टी स्थायी समिति बैठकमा आफूले अबको २ सय वर्षसम्म पनि नेपालको वैचारिक नेतृत्व लिने गरी विचार निर्माण गर्न र सत्ताको नेतृत्व लिँदा र आफूले अध्यक्ष प्रचण्डलाई सुझाव दिँदा कसरी नेतृत्व विरोधी भएँ ? भनी प्रश्न पनि गर्नुभयो । उहाँले अध्यक्ष दाहाललाई तपाईँको भूमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, सङ्गठनको जिम्मा अरूलाई दिनुस् भन्दा आफूमाथि नेतृत्व विरोधी कुरा गरेको आरोप लगाउने काम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
उपमहासचिव शर्माले अध्यक्ष दाहालतिर फर्कँदै तपाईँलाई हटाएर आफू अध्यक्ष हुने कुनै चाहना नराखेको बताए । पार्टीलाई समाप्त हुन नदिनका लागि आफूले अध्यक्ष दाहाललाई वैचारिक धारको नेतृत्व गर्न आफूले प्रस्ताव गरेको पनि उपमहासचिव शर्माको स्पष्टीकरण थियो ।