रुकुम पूर्वको भूमे गाउँपालिका र रोल्पाको थबाङ गाउँपालिकाकाे साझेदारीमा सातौँ अल्ट्रा संयुक्त गुरिल्ला म्याराथन प्रतियोगिता हुने भएको छ । तत्कालीन नेकपा माओवादीले २०५२ देखि २०६२ सम्म सञ्चालन गरेको दश वर्षीय `जनयुद्ध´को समयमा छापामार हिँडेको बाटोमा महिला तथा पुरुष गुरिल्ला म्याराथन प्रतियोगिता गर्न लागेको हो ।
खेल प्रवर्द्धनको माध्यमबाट छापामार हिँडेको बाटोलाई संरक्षण गरी पर्यटन प्रवर्द्धन सँग जोड्ने उद्देश्यले म्याराथन आयोजना गर्ने गरिएको बताइएकाे छ । भूमे गाउँपालिकाको वडा नम्बर ६ महतबाट सुरु हुने प्रतियोगिता भूमेको लाबाङ, घुरबाङ, रोल्पाको जलजला हुँदै थबाङ गाउँपालिको बसपार्क पुगेर अन्त्य भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
महिला तथा पुरुष धावकहरूले ५२ किलोमिटरको दुरी पार गर्नुपर्ने छ । ६ वर्ष अघि देखि हरेक वर्ष उक्त प्रतियोगिताको आयोजना गर्न थालिएकाे हाे । प्रतियोगितामा महिला तथा पुरुष धावकहरूका लागि पुरस्कार राशि समान रहेको छ । प्रथमले हुनेले ७५ हजार, दोस्रोले ५०, तेस्रोले ३० तथा चौथोले २० हजार रुपैयाँ पुरस्कार पाउने भएको भूमे गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै पाँचौँ देखि दशौँ स्थान सम्मका धावकहरूलाई प्रोत्साहन स्वरूप जनही पाँच हजार रुपैयाँको व्यवस्था गरिएको छ । यो वर्ष दुई वटा पालिकाको करिब ९ लाख रुपैयाँ खर्चिएर प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
भूमे गाउँपालिकाको चार तथा थबाङ गाउँपालिकाको पाँच लाख रुपैयाँमा प्रतियोगिता हुन लागेको हाे । प्रतियोगिता अवधिभर धावकहरूका लागि पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बिमाकाे व्यवस्था गरिएको छ ।
पाँचौँ संस्करणसम्म भूमे गाउँपालिकाले मात्र गुरिल्ला म्याराथनको आयोजना गर्ने गरेको थियो भने गएको वर्ष देखि थबाङ गाउँपालिकाले पनि सहकार्य गर्न थालेकाे छ । प्रतियोगिता असार ३ गते हुने छ ।


1686475760.jpg)


-1759842583.jpg)