Kakhara सबैको खबर सम्पूर्ण खबर
बाफुखोला: मकैमुनि लुकेका छन् हजारौँ क्विन्टल आलु

स्थलगत अवलोकन
वाफुखोला  भ्यालीमा फलेका करिब १,५०० ट्रक आलु अहिले पनि बारीमै छन् । दाङ घोराही लगायत बाहिरी बजारतर्फ पठाउने तयारीमा रहेका किसानहरूले मूल्य बढ्ने आशामा आलु नखनी राखेका हुन्। जेठको अन्तिम सातासम्म आलुका बोटहरू पूर्ण रूपमा ओइलाइसकेका छन्, तर आलु भने अझै मकैका बोटमुनि नखनेकै अवस्थामा रहेका छन् । हाल आलुको बजार मूल्य प्रतिकिलो करिब २० रुपैयाँ मात्र भएकाले किसानहरू साउनको पहिलो सातासम्म मूल्यमा सुधार आउने अपेक्षासहित आलु बारीमै राख्ने योजनामा छन् ।

वाफुखोला का खेतहरू हेर्दा जहाँतहीँ बाक्लो गरी लगाइएका मकै मात्र देखिन्छन् । बाहिरबाट आउने जो कोहीलाई त्यहाँ आलु खेती गरिएको छ भन्ने अनुमान गर्न पनि कठिन हुन्छ । मकै यति बाक्लो गरी किन लगाइएको होला भन्ने जिज्ञासाले किसानहरूसँग कुराकानी गर्दै जाँदा वास्तविकता खुल्छ ती बाक्ला मकैका बोटमुनि आलुका विशाल भण्डार लुकेर बसेका छन् । आलु खन्ने बेला मकैका केही बोट छाँट्नुपर्ने भए पनि मकैको उत्पादनमा खासै असर पर्दैन । बरु एउटै खेतबाट आलु र मकै दुवै बाली प्राप्त हुने भएकाले किसानहरूले यो मिश्रित खेती प्रणालीलाई लाभदायक मान्ने गरेका छन् ।

रुकुम र रोल्पाको बिचमा पर्ने सल्यान बागचौर नगरपालिकाको बाफुखोला एउटा सानो तर अत्यन्त उर्वर उपत्यका हो । करिब तीन किलोमिटर लम्बाइ र औसत तीस मिटर जति चौडाइ भएको यो साँघुरो भूभाग आज आलु उत्पादनका लागि परिचित बन्दै गएको छ । स्थानीयहरू यसलाई आलुको भण्डारकै रूपमा चिनाउन थालेका छन् । उपत्यकाको सानो आकार र विशाल उत्पादन क्षमताबिचको अन्तरले जो-कोहीलाई पनि आश्चर्यचकित बनाउँछ । बाफुखोलाको मुख्य विशेषता भनेको आलु र मकैको अन्तर बाली प्रणाली हो । यहाँ किसानहरूले आलु र मकैलाई एउटै बारीमा सँगसँगै लगाउने अभ्यास अपनाएका छन् ।

आलु पाकेर बोट सुकिसकेको छ भने मकैका बिरुवाहरू अझै वृद्धि हुने प्रारम्भिक चरणमा छन् । सामान्यतया यस समयमा आलु खनिसकेपछि मकैलाई गोडमेल, छँटाइ र अन्य व्यवस्थापन गरेर थप फस्टाउने वातावरण बनाइन्छ। तर यस वर्ष बजारमा आलुको मूल्य सन्तोषजनक नभएकाले किसानहरू आलु खन्न हतारिएका छैनन्  ।मैले त्यहाँ करिब पाँच सय ट्रक जति आलु उत्पादन हुन सक्ने अनुमान गर्दा स्थानीय कृषकहरूले भने मात्रै ?? यसको मतलब यहाँबाट १५०० ट्रक आलु दाङ् झर्ने वाला छन् । यदि यो आँकडा वास्तविक उत्पादनसँग नजिक छ भने बाफुखोला र आसपासका क्षेत्रहरू पश्चिम नेपालको महत्त्वपूर्ण आलु उत्पादन केन्द्रका रूपमा स्थापित हुँदै गएको स्पष्ट हुन्छ ।

स्थानीय कृषकहरूका अनुसार साउन महिनाको मध्यतिर आलुको मूल्य उल्लेखनीय रूपमा बढ्ने सम्भावना हुन्छ । यही कारण धेरै किसानहरूले साउन नलागेसम्म आलु नखन्ने निर्णय गरेका छन् । बाहिरबाट हेर्दा जेठमै बोट सुकिसकेको आलु साउनसम्म जमिनमै कसरी रहला भन्ने जिज्ञासा स्वाभाविक लाग्छ । तर किसानहरू यसबारे पूर्ण विश्वस्त छन् । उनीहरू भन्छन्, “आलुलाई केही फरक पर्दैन, बरु अझ परिपक्व हुन्छ । जमिनमै सुरक्षित रहन्छ।” बाफुखोलाका किसानहरूको यो व्यवहारले उनीहरू परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक तथा बजारमुखी कृषितर्फ उन्मुख हुँदै गएको सङ्केत गर्छ। उनीहरू उत्पादन बढाउने मात्र होइन, बजारको अवस्था बुझ्ने, मूल्यको उतारचढावको विश्लेषण गर्ने र उचित समय पर्खेर बिक्री गर्ने रणनीति अपनाइरहेका छन् । कृषि उत्पादनलाई बजारसँग जोडेर हेर्ने यस्तो सोचले ग्रामीण कृषिमा नयाँ परिवर्तनको सङ्केत गरिरहेको छ ।

aalu-1781279712.png
सानो भूगोल भए पनि बाफुखोलाले आलु उत्पादनमा देखाएको सम्भावना उल्लेखनीय छ। उपयुक्त बजार व्यवस्था, भण्डारण सुविधा, कृषि सडक तथा आधुनिक कृषि प्रविधिको पहुँच विस्तार गर्न सकेमा यो क्षेत्र पश्चिम नेपालको प्रमुख आलु उत्पादन केन्द्रका रूपमा अझ मजबुत ढङ्गले स्थापित हुन सक्ने देखिन्छ। बाफुखोला केवल एउटा सानो उपत्यका मात्र होइन, व्यावसायिक कृषिको सम्भावना बोकेको एउटा जीवन्त कृषि क्षेत्र हो।

आलुको विस्तारसँगै ओझेलमा परेका परम्परागत खेती र पशुपालन
वाफुखोला भ्यालीमा आलु खेतीको तीव्र विस्तारसँगै परम्परागत खेती प्रणाली र पशुपालन भने क्रमशः ओझेलमा पर्दै गएको देखिन्छ। स्थानीय किसानहरू अधिकांश समय आलु उत्पादनमै केन्द्रित हुन थालेपछि पहिले प्रशस्त हुने भैँसी पालन, लोकल सिमी खेती तथा दुग्ध उत्पादनमा उल्लेखनीय गिरावट आएको छ। स्थानीय बजारहरूमा अहिले शुद्ध दूध तथा दूधबाट बनेको चिया समेत सहजै उपलब्ध हुँदैन । केही वर्ष अघिसम्म घरघरमा भैँसी पालिने र बजारमा दूधको पर्याप्त आपूर्ति हुने गरे पनि अहिले त्यो अवस्था परिवर्तन भइसकेको छ ।

त्यसै गरी, एक समय ठुलो परिमाणमा बाहिरी जिल्लासम्म निर्यात हुने स्थानीय सिमीको दाल पनि दुर्लभ बन्दै गएको छ। किसानहरू आलु खेतीबाट तुलनात्मक रूपमा बढी आम्दानी हुने देखेपछि सिमी खेतीतर्फको आकर्षण घट्दै गएको स्थानीयहरूको भनाइ छ। यति ठुलो परिमाणमा आलु उत्पादनका लागि आवश्यक मलखादको स्रोतबारे जिज्ञासा राख्दा किसानहरूले रोचक तथ्य सुनाउँछन् । रासायनिक मलभन्दा बढी उनीहरू बाख्रा पालनबाट प्राप्त हुने गोबर मलमा निर्भर छन् ।

अधिकांश किसानले घरमै बाख्रा पाल्ने गरेका छन् र बाख्राबाट प्राप्त मल आलु खेतीमा प्रयोग गर्ने गरेका छन् । यसले आलु उत्पादनमा जैविक मलको प्रयोगलाई निरन्तरता दिएको देखिए पनि भैँसी पालन भने क्रमशः घट्दै गएको छ । यसरी वाफुखोला  भ्यालीमा आलु खेतीले आर्थिक अवसर सिर्जना गरे पनि त्यसको प्रभाव परम्परागत खाद्य बाली, दुग्ध उत्पादन र पशुपालन प्रणालीमा समेत देखिन थालेको छ । कृषि उत्पादनको बढ्दो एकमुखीकरणले दीर्घकालमा स्थानीय खाद्य विविधता र आत्मनिर्भरतामा कस्तो असर पार्छ भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update