Kakhara सबैको खबर सम्पूर्ण खबर
राष्ट्रिय परिचयपत्रमा नागरिकको आकर्षण, जेठ महिनामा मात्र १,२३४ जनाले दिए विवरण

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जेठ महिनामा नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रलगायत विभिन्न सेवामार्फत हजारौँ सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालय एक महिनाको अवधिमा झन्डै तीन हजार सेवाग्राहीलाई सेवा प्रदान गरेको हो । जेठ महिनाभर सबैभन्दा धेरै राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह भएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ महिनामा मात्र २८ सय २४ जनालाई सेवा प्रदान गरिएको छ । उक्त अवधिमा १ हजार २३४ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् भने १५१ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । 

त्यस्तै नयाँ नागरिकता तर्फ  ३४१ पुरुष र ३४३ महिला गरेर कुल ६ सय ८४ जनाले सेवा लिएका छन् । प्रतिलिपि नागरिकता सेवा अन्तर्गत ३०३ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको छ । जसमा १६५ पुरुष र १३८ महिला लाभान्वित भएको प्रजिअ गौतमले जानकारी दिनुभयो । विदेश यात्रा तथा अन्य प्रयोजनका लागि आवश्यक राहदानी सेवातर्फ पनि नागरिकको चाप बढेको उहाँको भनाई छ । जेठ महिनामा मात्र २४५ जनाले राहदानी बनाएका थिए । जसमा १४४ पुरुष र १०१ जना महिला रहेकामा २०७ जनाले राहदानी लिइसकेका छन् भने ३८ जनाले राहदानी लिन बाँकी रहेको उहाँको भनाई छ । 

पछिल्लो समय विभिन्न सरकारी सेवामा राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दै जाँदा यसको विवरण दर्ता र कार्ड प्राप्त गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढेको  प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो । कार्यालयले सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र छिटो बनाउन निरन्तर प्रयास गरिरहेको उहाँको भनाई छ । जिल्ला प्रशासन कार्यालयले पछिल्लो केही समयदेखि जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय चौरजहारीबाट हुने दैनिक सेवा प्रवाहलाई नियमित रूपमा सार्वजनिक गर्दै आएको छ । यसले गर्दा सेवा प्रवाहको जानकारी लिन सर्वसाधारणलाई समेत सहज भएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update