स्थानीय पाठ्यपुस्तक निर्माणका लागि भौगोलिक तथा सामाजिक अवस्थाको अवलोकन गर्नु, आवश्यक फोटोहरू स्थलगतमै खिच्नु र त्रिवेणीको समग्र अवस्थाको निर्क्यौल गर्नु आदि उद्देश्यले २०८३ सालको बैशाख १३ गते त्रिवेणीका १० वटै वडाहरूको भ्रमण गर्ने योजना बनाएका थियौँ । स्थानीय अधिकारीहरूको लक्ष्य विकास निर्माणका कामहरूको अनुगमन गर्नु पनि थियो । यात्रामा गाउँपालिका अध्यक्ष गणेश केसी, त्रिवेणी प्रज्ञा प्रतिष्ठानका उपकुलपति मनलाल ओली, हिमालय जनता माविका प्रधानाध्यापक नरसिँह ओली, शिक्षा अधिकृत मानबहादुर विश्वकर्मा, शिक्षा कर्मचारी खिमविक्रम केसी, चालक विश्व झलकलगायत म पनि सहभागी थियौँ ।
हामी समुन्द्री सतहबाट १११० मिटर उचाइमा रहेको सिम्रुतु खोला तरेर पालिकाको गाडीमा बिमैचातिर उक्लियौँ । सिम्रुतु–रुँघा सडक हुँदै कोरबाङ खोलातिर अघि बढ्दै, त्यहाँबाट देब्रे मोडिएर बर्खेटाकुरा, डाँडा, जुम्लेपोखरी, बिमैचा तलीगाउँ पार गर्दै २००० मिटर उचाइको बिमैचा माथिगाउँ पुग्यौँ । बिमैचाका पाक्दै गरेका गहुँबाली र सुन्तला बारीहरूले मन लोभ्यायो । त्यहाँबाट बेतखोला (२०५० मि.) को बालविकास केन्द्र छिर्दै, बारकोटे लेकको पाखो हुँदै गैरीनेटातिर सोझियौँ । पारिपट्टि हात जोडिएर उभिएका खेलाडीजस्ता सात वटा चुचुराहरू लहरै देखिँदा, ‘बाह्रकोट’ नामको अर्थबारे अनुमान लगाउन सजिलो भयो ।
बेतखोलाबाट चारैतिरको खुल्ला दृश्यको अवलोकन गर्दै अगाडि बढ्यौँ । हिजो बेलुकाको हुरी र वर्षाद्ले धरती र आकाशको धूलोमैलो सिनित्तै सफा गरिसकेको थियो । गैरीनेटा (२,१०४ मिटर) पुगेर माध्यमिक विद्यालयको अवलोकन गर्यौँ । गाउँ सफा, सुसज्जित र आकर्षक देखिन्थ्यो । त्यहीँ सर्वजीत केसीको घरमा हाम्रो भोजनको व्यवस्था गरिएको थियो । यात्रामा अन्य भोजन तयार गर्न ढिला हुने भएकोले छिटोको लागि ढिँडो पकाउन लगाएर त्यसपछि हामी बाह्रकोटतिर उक्लियौँ ।

बारकोटे धुरी (२,२२८ मिटर) जनयुद्धकालीन बङ्करका अवशेष र सहिद स्तम्भको भग्न रूप देख्दा इतिहासको पीडा महसुस भयो । यहाँबाट मुसीकोट, बाँफीकोट, त्रिवेणी, सानीभेरीका क्षेत्रहरू मात्र होइन, उत्तरतिर रुकुम, डोल्पा र बाग्लुङका हिमालहरू समेत देखिन्थे । दृश्य अत्यन्तै मनमोहक थिए ।
विश्वझलक र भीमदत्त बुढाथोकीको मिहिनेत परेको स्वादिष्ट ढिँडो उसिनेको साग र टिम्मुरको चट्नीसँग डोबेर खाएपछि बाँदरपानीतिर लाग्यौँ । गैरीनेटा स्कुलका हेडसर चन्द्रमणि ओली र भीमदत्त बुढाथोकी सर पनि टोलीमा थपिए । बाँदरपानी (२,१६६ मिटर) मा तारजालीले घेरेको पोखरी भेटियो, तर ढलानका कारण सुकेको देखेर दुःख लाग्यो । नजिकै युनिसेफले बनाएको पुरानो पानी ट्याङ्की पनि देख्यौँ । बाँदरपानीको लसुनबारीले पाखैभरि हरियाली छरिरहेको थियो ।
दहभागेतिर झर्दा बाटोमा ठूलो जुर खसेर अवरोध बनेको थियो । बाटोमा चट्टान फोरेर गिट्टी कुट्न ल्याइएका घन, हतौडा र सप्पलको सहयोगले बाटो खुलायौँ । बाटोमै महिलाहरू र बालबालिकाले चट्टान कोट्याएर गिट्टी बनाइरहेका दृश्यले श्रम र जोखिम दुवै देखायो । माथि अड्किएका ठूला जुरहरू देख्दा सम्भावित दुर्घटनाप्रति सचेत रहन सुझायौँ ।
दहभागे (२,००० मि.) पुग्दा पोखरी सुकेको भेटियो । त्यसपछि कालापोखरातिर उक्लिँदै विभिन्न गाउँहरू नियाल्यौँ । २,००० मि. उचाइमा रहेको दहभागेमा पुगेर भागेको दह हेर्न गाउँतिर लाग्यौँ । दहभागेको पोखरी पनि सुकेको अवस्थामा भेटियो । यो त्रिवेणीको १ नम्बर वडा थियो ।
दहभागेबाट माथितिर कालापोखरातिर उक्लिँदा बल्लेजुरा बोक्सीथला किम्मुगैरा आदि गाउँ देखिए । हामी लिफ्टसिँचाइ योजना पनि देखियो ।

हामी लग्र गाउँबाट उकालो लागेर मसानेगैरा तथा सुपेगैराको तलतली निकै बाक्लो रानीवनमा विभिन्न घुम्तीमा घुम्दै कालापोखरा (२,३७२ मि.) उक्लियौँ । कालापोखराको पोखरी पनि मान्छेको अतिक्रमणले खुम्चिएर सुक्नै थालेको अवस्थामा थियो । सीमाना बजारको अवलोकन गर्दै हामी रोल्पाको भूमिमा प्रवेश गर्यौँ र रोल्पाका विभिन्न गाउँहरूको अवलोकन गर्दै जिलाधुरीतिर लाग्यौँ । आलुखेतीले ढाकिएको भूभाग निकै मनमोहक थियो ।
यहाँबाट रोल्पाका सिरुवाली, राक्सेबाङ, सुपाकुना, पन्चासे, थुनी, जुमाराङ्सी, साहित्यकार नवीन विभासको गाउँ नन्दबहादुर पासाङको गाउँ राङ्सीलगायतका ठाउँहरू नजिकै देखिए । देखिएका अधिकांश गाउँहरू रोल्पाको परिवर्तन गाउँपालिकाअन्तर्गत पर्दा रहेछन् । हामी रोल्पाको बागखोर गाउँ हुँदै जिलाधुरीतिर उक्लियौँ । बाटैभरि राम्रो आलुखेती देखियो । केही माथि पुगेपछि सानो खोला पार गर्यौँ । यो खोला तेह्रकुने तालबाट आएको थियो ।
केही उकालिएपछि हामी रोल्पाको सुकीदह पुगेपछि जिलाधुरी (२७०५ मिटर) त्रिवेणीकै सर्वोच्च शिखरका रूपमा उभिएको देखियो । शिरमा हिउँ बोक्न नसके पनि अन्य कुरामा म पनि सगरमाथाभन्दा के कम छु र भनी प्रश्न गरिरहेको जस्तो लाग्यो । यो धुरी त्रिवेणीको वडा नं १ र ५ को बिचमा पर्दोरहेछ ।
हामी रोल्पा र रुकुमको ठिक बिचैबिच डाँडैडाँडा हुँदै दक्षिण पश्चिमतिर हानियौँ । हाम्रो यात्रा कहिले रुकुम, कहिले रोल्पा हुँदै अघि बढ्यो । सडक शिखरको थाप्लै थाप्लो खनिएकोले रुकुम र रोल्पाका अधिकांश भागहरू देखिन थाले ।
हाम्रो यात्रा पूर्वयोजनामुताबिक त्रिवेणीका सम्पूर्ण वडाहरूको भूभाग टेक्दै र हेर्दै एक चक्कर लगाउँदा सोचेअनुसार सफल भएको अनुभूति थियो ।
अलि पर बडेमानका धुपीहरूको जङ्गल भेटियो । नामै जुम्लेधुपी (२६२५ मि.) भनिँदो रहेछ । त्योभन्दा अगाडिबाट देब्रेपट्टि रोल्पाको गंगादेव गाउँपालिकाको रातामाटा, राँकखोला, बल्ले, जाया, जिनाबाङ, तालाबाङ, मछाइने, पुत्लीडाँडा, र दायाँपट्टि त्रिवेणीकै ५ नं र ४ नं. वडाहरू पर्नेरहेछन् । केही समयपछि लाममेला (२४५० मि.) भन्ने सानो बजारमा पुग्यौँ । त्यहाँबाट केही ओर्लिएपछि किलाठोके (२३१६ मि.) र अझै पर डल्सिँगे बजार (२२६२ मि.) भेटियो । हामी घरी रुकुमको भूभागमा त घरी रोल्पाको भूभाग हुँदै अगाडि बढ्दै थियौँ । डल्सिँगेको थोरै पर पुगेपछि सुवाटोड्केको सानो बजारमा पुग्यौँ । यो बजारमा रोल्पाको सीमा समाप्त लेखिएको सहिद स्मृति गेटबाट छिरेपछि सल्यानको बागचौर नगरपालिकाको भूभागमा पस्यौँ ।

पुराना यात्रुहरूका अनुसार यहाँको भू-दृश्य निकै परिवर्तन भइसकेको रहेछ । पहिले यस ठाउँमा जङ्गल मात्र थियो रे । तलतिर सल्यानका बाँफुखोला ओख्रेनी पातीहाल्ना आदि गाउँहरू देखिए । जङ्गलै जङ्गल केही पर पुगेपछि रुकुमको सुकीदह (२२४० मि.) भेटियो । सिम्रुतु र आसपासका क्षेत्रहरूबाट वनभोज खान आउने प्रसिद्ध स्थल हो यो । खानेपानीको सुविधा पनि छ । मनलाल सरले यहाँको पानी असाध्यै मिठो भएकोले गाडीबाट ओर्लेर पानी खान सुझाउनुभयो तर हामीहरूको समय घर्किँदै गएकोले गाडी रोकिएन ।
खाराको दयालेकरराङ्गोमारे (२३८० मि.) लाई देब्रेतिर पार्दै हामी खौला (१९६५ मि.) झर्यौँ र झनखानी (२०८१ मि.) लाई देब्रेतिर पारेर राप्ती लोकमार्गको पक्की सडक हुँदै एकैछिनमा रुकुमको प्रसिद्ध बजार झुल्नेटा (१९२२ मि.) मा पुग्यौँ । यो बजार त्रिवेणीको वडा नं ३ र ६ को बिचमा पर्दो रहेछ ।
झुल्नेटामा शहिद स्मृति सङ्ग्रहालय पार्कको गेट त बारम्बार देखेका थियौँ तर पार्कभित्र छिर्ने अवसर कसैलाई मिलेको थिएन । हामी गाडीबाट ओर्लेर पार्क पनि हेर्ने भनी उकालोतिर लाग्यौँ । स्मृति पार्कको प्रवेशद्वार नै निकै विशाल रहेछ । ३ जना किशोरीहरू प्रवेश टिकट काट्न बसेका थिए तर गणेश सरले अनुगमन टोली हो भनेपछि टिकट काट्नुपरेन । त्यहाँबाट ओहोरदोहोर गर्ने रेलिङ लगाइएको निकै फराकिलो सिँढी चढ्दै माथि गयौँ । माथि बाल उद्यान बन्दै गरेको रहेछ । त्यहाँबाट अझै पर गयौँ । त्यहाँ सङ्ग्रहालयको विशाल भवन (२००० मि.) निर्माणाधीन अवस्थामा रहेछ । अझै पर विशाल टावर पनि बन्ने क्रममा देखियो ।

फर्किँदा टिकट काट्ने बहिनीहरुबाट दर्ता पुस्तिका माग्यौँ । २०८०।०७।२० गतेबाट दर्ता गर्न थालिएका पर्यटकको सङ्ख्याको क्रम १२३४ उल्लेख भए पनि वास्तविक संख्या अझै बढी हुने अनुमान गरियो । अहिले दिनमा लगभग पाँच सातजना अवलोकनकर्ता मात्र जाने गरेको देखियो । तथापि निर्माण सम्पन्न भइसकेपछि रुकुमकै नमूना सङ्ग्रहालय आकर्षक गन्तव्य बन्ने र धेरै पर्यटकको ध्यान खिच्ने प्रबल सम्भावना देखियो ।
मलाई लागेको थियो यो युद्ध सङ्ग्रहालयमा हेर्नको लागि युद्धका सामग्रीहरू राखिइसकेको होला । तर माथि पुगेपछि मात्र थाहा भयो । भवन र अन्य संरचना त बन्दै पो रहेछन् । सम्पन्न हुन अझै केही वर्ष लाग्नेछ ।
सङ्ग्रहालयको बन्दै गरेको बाहिरी कङ्काल मात्र हेरेर हामी झुल्नेटामा फर्कियौँ । झुल्नेटाको छेउमै रहेको युवा जागरण माविमा टीकाराम खडका सरले फलफूल खुवाउनुभयो ।
झुल्नेटाबाट अब हामी ६ र ७ नम्बर वडाको बिचैबिच हुँदै अगाडि बढ्यौँ र सल्यानको दार्मा गाउँपालिकाको भूभागमा पस्यौँ । केही परबाट सडक फेरि रुकुम र सल्यानका लेकाली सीमाना हुँदै पश्चिमतिर लाग्दै गयौँ । केही पर भेरीपोखरा (२०३० मि.) को डाँडामाथिको गाउँ भेटियो । यो त्रिवेणीको वडा नं ८ मा पर्दोरहेछ अझै पर बाज्ने (२००५ मि) भन्ने ठाउँ भेटियो । यहाँ दशैँतिहारको बिचमा ठुलो मेला लाग्दो रहेछ । मेलामा सल्यान र रुकुमका मान्छेहरू मेला भर्न आउँदा रहेछन् ।

बाध्नेबाट अझै अगाडि बढेपछि चौरबाटा (१९३२ मि.) भन्ने ठाउँमा पुग्यौँ र त्यहाँबाट ओरालो झर्यौँ । अब त्रिवेणीको वडा नं ९ सुरू भएको थियो । एकैछिनमा नुवाकोट डाँडा (१७४७ मि.),आइपुग्यौँ । गाडीमा झुल्नेटाबाट नुवाकोट डाँडा पुग्न आधा घण्टा पनि लागेन ।
यहाँबाट बल्लेजुरी (१८९७ मि.), खामेधुरी (२०७३ मि.), ९ नं. निपाने (२०६५ मि.) झारपोखरा (१९८६ मिटर) हाम्रो सन्मुख नै देखिए । बल्लेजुरी हुँदै टोड्के पुग्ने हाम्रो लक्ष्य भए तापनि आकाशमा कालो बादल मडारिन थालेकोले बदलिँदो मौसमको अगाडि यात्रा कमजोर र कठिनाइ हुने निष्कर्ष निकाल्यौँ । ठाउँहरूलाई नजिकैबाट अवलोकन गर्दै हामी गैरीखेत झर्यौँ । केही अगाडि बढेपछि सालघारी भन्ने ठाउँमा पुग्यौँ । यो त्रिवेणीको १० नं वडा पर्दोरहेछ । यहाँ सहिदहरुको नाम लेखिएको ठुलै स्तम्भ क्षतिग्रस्त अवस्थामा सडकको छेउमा पन्छाइएको देखियो । यहाँ ड्रागन खेती आलु खेती प्रशस्त मात्रामा भएको रहेछ । खेतैभरि लहलह झुलेको गहुँ काट्न मान्छेहरू व्यस्त थिए । त्रिवेणीको सबैभन्दा बढी कृषि उत्पादनशील क्षेत्र मानिँदो रहेछ यसलाई । यहाँबाट काइँयाखोलाको किनारै किनार अगाडि बढ्यौँ । भँयाराथान (११३३ मि.) बाट अगाडि मुसीकोट नगरपालिकाको १२ नम्बर वडा पर्दो रहेछ । हामी सोलाबाङको नजिकै रहेको ठाँटीबजारबाट पुल तरेर पुनः राप्ती लोकमार्ग हुँदै त्रिवेणीको सबैभन्दा होचो स्थान रातापहर (११३३ मि.) स्थित प्रवेशद्वारबाट छिरेर सिम्रुतु पुग्यौँ ।
हाम्रो यात्रा पूर्वयोजनामुताबिक त्रिवेणीका सम्पूर्ण वडाहरूको भूभाग टेक्दै र हेर्दै एक चक्कर लगाउँदा सोचेअनुसार सफल भएको अनुभूति थियो । दिनभरको यात्राले त्रिवेणीको भूगोल मात्र होइन, जनजीवन, सम्भावना र चुनौतीहरू पनि नजिकबाट देखायो ।








-1759842583.jpg)