Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा तीन वर्षमा १०२ जनाले गरे आत्महत्या, युवावर्ग सबैभन्दा बढी प्रभावित
फाइल फाेटाे ।

रुकुम पश्चिममा पछिल्ला तीन आर्थिक वर्षमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ देखि चालु आर्थिक वर्ष २०८२/८३ सम्म १०२ जनाले आत्महत्या गरेका छन् । तथ्यांक अनुसार तीन वर्षको अवधिमा ६४ पुरुष र ३८ महिलाले आत्महत्या गरेका छन् ।  जस अनुसार गत आर्थिक २०८०/८१ मा २५, २०८१/०८२ मा ४१ र चालु आर्थिक वर्षमा ३६ जना गरेर हालसम्म कुल १०२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलेले जानकारी  दिनुभयो । 

उहाँका अनुसार स्थानीय तहगत रुपमा हेर्दा  मुसिकोट नगरपालिकामा सबैभन्दा बढी २८ जनाले आत्महत्या गरेका छन्  । त्यस्तै भने आठबिसकोट नगरपालिकामा १९, चौरजहारी नगरपालिकामा २०, बाँफिकोट गाउँपालिकामा १३, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा समान ११–११ जनाले आत्महत्या गरेका छन्  । चालु आर्थिक वर्ष २०८२/८३ मा मात्रै जिल्लाभर ३६ जनाले आत्महत्या गरेका छन्, जसमा पुरुषको संख्या उल्लेख्य रूपमा बढी रहेको  देखिएको छ  । 

उमेर समूहका आधारमा विश्लेषण गर्दा १६ देखि २५ वर्ष उमेर समूह सबैभन्दा बढी प्रभावित देखिएको छ । उक्त समूहमा २९ जनाले आत्महत्या गरेका छन् । त्यसपछि १६ वर्षमुनिका १९, २५–३५ वर्षका १७, ४५–६० वर्षका १७, ३५–४५ वर्षका १३ तथा ६० वर्षमाथिका ७ जना रहेका छन् । आत्महत्याका घटना उच्च देखिनुमा मानसिक स्वास्थ्य, पारिवारिक तनाव, सामाजिक दबाब तथा आर्थिक समस्याजस्ता विषय जोडिएको  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार १, २०८३  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update