राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमको प्रथम जिल्ला अधिवेशन सुरु भएको छ । आज जिल्ला सदरमुकाम मुसिकोट १ बाल मन्दिर प्रागंणमा प्रथम अधिवेशन उद्घाटन सत्र सम्पन्न भएसँगै बन्द सत्र सुरु भएको हो । अधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक व्यक्तित्व तथा पत्रकार महासंघ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै लोकतान्त्रिक अभ्यास र सुशासनका लागि राजनीतिक दलहरूको सकारात्मक भूमिकामा जोड दिएका थिए ।
अधिवेशनलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकार गायिका भूमिका गिरी तथा स्थानीय कलाकारहरूले साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए ।
कलाकारहरूको प्रस्तुतिले सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो । अधिवेशनका क्रममा विभिन्न राजनीतिक दल परित्याग गरी उद्योग वाणिज्य संघका अध्यक्ष पहलबहादुर खड्का, उपाध्यक्ष रवीन्द्रकुमार विष्ट, संघका पूर्व अध्यक्ष टेनिम पुनले पार्टी प्रवेश गर्नुभएको छ ।
त्यस्तै नेकपा एमालेबाट धनबहादुर केसी, नेपाली काँग्रेसबाट बिरबल केसी, रघुवीर विक, तेजुनाथ विक लगायत दर्जनौं व्यक्तिहरू रास्वपामा प्रवेश गरेको रास्वपा रुकुम पश्चिमले जनाएको छ । नवप्रवेशीहरूलाई पार्टीका नेताहरूले स्वागत गर्दै सङ्गठन विस्तार र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
उद्घाटन सत्र सम्पन्न भएपछि अहिले मुसिकोट नगरपालिका–१ स्थित बाल मन्दिरमा बन्द सत्र जारी रहेको छ । बन्द सत्रले सङ्गठनात्मक प्रतिवेदन, भावी कार्यदिशा तथा जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन गर्ने एजेन्डामाथि छलफल गरिरहेको रास्वपा रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बन्द सत्रबाट नयाँ जिल्ला नेतृत्व चयन गरिनेछ । जिल्लामा पार्टी सङ्गठनलाई थप प्रभावकारी, सशक्त र जनमुखी बनाउने लक्ष्यका साथ नेतृत्व चयन प्रक्रिया अघि बढाइएको बताइएको रास्वपा रुकुम पश्चिमले जनाएको छ । रास्वपाले यसअघि सबै पालिका अधिवेशन मार्फत रुकुम पश्चिममा नयाँ नेतृत्व चयन गरिसकेको छ ।


1686475760.jpg)


-1759842583.jpg)