Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा अटो दुर्घटना, ६ जना घाइते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ बैरीदहस्थित मध्यपहाडी लोकमार्गमा अटो दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । शनिबार साँझ करिब ८ बजे बैरीदहबाट खलंगातर्फ आउँदै गरेको लु.प्र. २००१ ह १७५५ नम्बरको अटो अनियन्त्रित भई सडकको नालामा पल्टिँदा दुर्घटना भएको हो ।दुर्घटना परी मुसिकोट नगरपालिका–५ निवासी २७ वर्षीय नन्दराम केसी, मुसिकोट नगरपालिका–७ निवासी २४ वर्षीया अनुष्का बुढा वली, मुसिकोट नगरपालिका–५ निवासी ४० वर्षीय हरि केसी, मुसिकोट नगरपालिका–५ निवासी ४२ वर्षीय एक्कबहादुर केसी, मुसिकोट नगरपालिका–५ निवासी ७ वर्षीय श्रवण केसी र रुकुम पूर्वको सिस्ने गाउँपालिका–८ सानचौर निवासी ३२ वर्षीया पुष्पा खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।  उहाँका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । दुर्घटनामा संलग्न अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  २२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update