Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबिसकाेट टिप्पर दुर्घटना: बेपत्ता अपरेटरको पनि सब फेला, तीनै जनाकाे शव सुर्खेतमा भेटियाे
मृत फेला परेका जेसिभी अपरेटर धनबिर बिक ।

रुकुम पश्चिमको आठबिसकाेट नगरपालिका-१४ पिपलचाैरमा भएको टिप्पर दुर्घटनामा परी बेपत्ता अर्का एक जनाको पनि शव फेला परेको छ । ठुली भेरी नदीमा बेपत्ता रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-४ का ३३ वर्षीय धनवीर विकको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार जेसिभि अपरेटर विकको शव सुर्खेत वीरेन्द्रनगर २ दमाकसर स्थित भेरी नदी किनारमा आइतबार साढे ४ बजेतिर शव भेटिएकाे थियो । मृतकका दाइले शवको पहिचान गरेको प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।

यो सँगै उक्त दुर्घटनामा बेपत्ता तीनै जनाको शव फेला परेको उहाँले बताउनुभयो । टिप्पर चालक दाङका ३५ वर्षीय मनिराम चाैधरी र जेसिभि हेल्पर रुकुम पूर्व सिस्ने गाउँपालिका-८ स्यालापाखाका २० वर्षीय हरि विकको शव यसअघि नै सुर्खेतको भेरी गङ्गा नगरपालिका-२, खाेचीस्थित भेरी नदी किनारमा फेला परेको थियो ।

गत मंगलबार साँझ रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १४ पीपलचौर स्थित जाजरकोट डोल्पा भेरी कोरिडोर सडक खण्डबाट वडा नम्बर ११ को चिसापानी हुँदै छपोरे जादै गरेको यति विल्डर्सकाे रा १ क १५०१ नम्बरको टिप्पर भेरी नदिमा खसेकाे थियो ।

त्यसपछि टिप्परमा सवार तीनै जना बेपत्ता थिए । टिपर भने घटना स्थलभन्दा केही तल नदीमै फेला परेको थियो । छुट्टाछुट्टै ठाउँमा फेला परेकाेमा अगाडीकाे भाग निकालिएकाे छ भने पछाडीकाे भाग भने अझै नदीमै छ । 

 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ००:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update