रुकुम पश्चिममा सन् २०२२ देखि सञ्चालनमा रहेको स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवशिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजनाको सक्रिय कार्यान्वयन चरण सम्पन्न भएको छ । वान हर्ट वर्ल्ड वाइडको आर्थिक सहयोगमा रुकुमेली समाज विकास केन्द्रद्वारा सञ्चालित यस परियोजनाको ३ वर्षसम्म चलेको सक्रिय कार्यान्वयन चरण समापन भएको हो ।
२०२६ डिसेम्बरसम्म बहिर्गमन चरण जारी नै रहने छ । यो चरणमा सक्रिय कार्यान्वयन चरणमा भएका कामको मूल्याङ्कन, अनुगमन लगायतका काम हुने वान हर्ट वर्ल्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरीले जानकारी दिनुभयो । आज यसबारेमा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक मार्फत जिल्लास्थित सरोकारवालाहरूलाई जानकारी गराइएको हो ।
जिल्ला प्रशासन कार्यालयको सभा हलमा भएको बैठकमा परियोजना अन्तर्गत सञ्चालित गतिविधि, तीनको प्रगति, परियोजना लागु गर्दा देखिएका चुनौती र अब बहिर्गमन चरणमा सञ्चालन हुने गतिविधि लगायतका बारेमा जानकारी गराइएको जिल्ला संयोजक गिरीले जानकारी दिनुभयो ।
परियोजनाका कार्यक्रम संयोजक मदन खड्काले परियोजना अन्तर्गत सञ्चालित गतिविधि र तीनको प्रगति, चुनौती लगायतका बारेमा प्रस्तुतीकरण राख्नुभएको थियो ।
-1753858629.jpg)
परियोजना मार्फत जिल्लामा मुरु र गोतामकोट स्वास्थ्य चौकीमा गरेर दुई वटा प्रसूति भवन निर्माण, साँख स्वास्थ्य चौकीको मर्मत, २० वटा स्वास्थ्य संस्थालाई गुणस्तरीय प्रसूति सेवा प्रवाहका लागि आवश्यक प्रसूति कक्षका सामग्री, ४ वटा ग्रामीण अल्ट्रासाउन्ड मेसिन र जिल्ला अस्पतालमा विशेष नवजात शिशु हेरचाह इकाइका लागि सामग्री प्रदान गरिएको खड्काले जानकारी गराउनुभयो ।
त्यस्तै तीन वटा अस्पतालमा नमुना अभ्यास (सिमुलेसन) कक्ष, १४ वटा दक्ष प्रसूतिकर्मी (एसबिए) तालिम, १२ वटा इम्प्लान्ट तालिम, ८ वटा ग्रामीण अल्ट्रासाउन्ड तालिम र ६ जनालाई मेनटरसिप तालिम समेत प्रदान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार हालसम्म यस परियोजना मार्फत जिल्लामा ४ करोड ५३ लाख ४८ हजार १ सय ९१ रुपैयाँ ४२ पैसा खर्च भएको छ ।
आमा र नव शिशुको स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर यो परियोजना रुकुम पश्चिमका सबै ६ वटै पालिकामा कार्यान्वयनमा छ । नेपालका ग्रामीण क्षेत्रका आमा र नवजात शिशुको जीवन र स्वास्थ्य बचाउने ध्येयका साथ सञ्चालित परियोजनाले जिल्लामा पनि आमा र नवशिशुहरूको लागि गुणस्तरीय हेरचाहमा समान पहुँच प्रदान गर्ने स्थानीय रूपमा नेतृत्व गरिएको स्वास्थ्य प्रणाली विकासको लक्षका साथ काम गरिरहेको परियोजनाका जिल्ला संयोजक गिरीले बताउनुभयो ।
-1753858620.jpg)
उहाँका अनुसार परियोजनाले प्रसूति केन्द्रको निर्माण, मर्मत सम्भार, स्वास्थ्य चौकीहरूको स्तरोन्नतिका लागि अत्यावश्यक स्वास्थ्य सामग्री वितरण, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि तथा समुदाय स्तरमा स्वास्थ्य प्रणालीसँग तालमेलका लागि काम गरेको छ । परियोजनाको सक्रिय रूपमा काम गर्ने अवधि सकिए पनि परियोजना भने सन् २०२६ को डिसेम्बरसम्म जिल्लामा रहने बताइएको छ ।
बैठकका वक्ताहरूले वान हर्ट वर्ल्ड वाइड र रुकुमेली समाज विकास केन्द्रले जिल्लामा आमा तथा नव शिशु स्वास्थ्यका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले परियोजनाले जसरी जिल्लामा काम गर्यो त्यो उदाहरणीय र प्रशंसनीय रहेको बताउनुभयो ।
पारदर्शी र जबाफदेहितामा विशेष ध्यान दिएर आमा तथा नव शिशुको स्वास्थ्यका लागि प्रभावकारी रूपमा परियोजनालाई अगाडी बढाएको भन्दै उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जिल्लामा आमा तथा नव शिशुको सुरक्षाका लागि विशेष गरी आइसियु र एनआइसीयु लगायतका सेवा सुविधा थप हुनुपर्ने बताउनुभयो ।
-1753858631.jpg)
यसका लागि सरकारी तथा गैरसरकारी संस्थाहरू लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्वास्थ्य सेवा व्यवस्थापक डा. जीवन परियारले जिल्ला अस्पताल अब भौतिक पूर्वाधार र उपकरणमा सुविधा सम्पन्न गइरहेको भन्दै अब जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
वान हर्ट वर्ल्ड वाइड सुर्खेत कलष्टरका वरिष्ठ कार्यक्रम संयोजक रविन जोशीले जिल्लामा सोचे भन्दा राम्ररी परियोजना अघि बढेको बताउँदै परियोजना मार्फत भएका कामको दिगोपनाका लागि भने सबै सरोकारवाला निकायलाई जिम्मेवार भएर लाग्न आग्रह गर्नुभयो ।
-1753858640.jpg)
जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक लुम्बिनी गौतमको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर बिक, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, स्वास्थ्य सेवा व्यवस्थापक डा. जीवन परियार, वान हर्ट वर्ल्ड वाइड सुर्खेत कलष्टरका वरिष्ठ कार्यक्रम संयोजक रविन जोशी, सुरक्षा निकायका प्रमुख, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुन लगायतको आतिथ्यता रहेको थियो ।
रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष केशनकुमार क्षेत्रियालको स्वागत मन्तव्य रहेको बैठकको सञ्चालन रुकुमेली समाज विकास केन्द्रका कार्यकारी अधिकृत नरेन्द्र ओलीले गर्नुभएको थियो ।







-1759842583.jpg)