
शनिवार देखि हराइरहेका रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर ६ का अढाई वर्षीय शिशिर बोहराको खोजीका लागि आएका नेपाल प्रहरीका तालिम प्राप्त कुकुर सहितको टोली फर्किएको छ । सोमबार घटनास्थल आसपासमा शिशिरको खोजी गरेका दुई वटा कुकुर सहितको टोली आज फिर्ता भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो ।
कुकुरबाट आवश्यक अनुसन्धान भइसकेकोले फिर्ता पठाइएको उहाँले बताउनुभयो । प्रहरीबाट आवश्यक अनुसन्धान भने चलिरहेको उहाँले बताउनुभयो । सोमबार कुकुर सम्मिलित टोलीले खोजी गर्दा घरभन्दा करिब २ किलोमिटर टाढा शिशिरले लगाएका दुई वटा चप्पल फेला पारेको थियो । अन्य लिड भने हात नलागेको प्रहरीले जनाएको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर ६ गवारीका रुद्रबहादुर बोहराका २ वर्ष ५ महिनाका छोरा शिशिर शनिवार साँझ घरबाटै हराएका हुन् । त्यस लगत्तै शिशिरको खोजी प्रहरी, सशस्त्र प्रहरी तथा घर परिवार र स्थानीयले थालेका थिए । उनको खोजीका लागि सोमबार कर्णाली प्रदेश प्रहरी के नाइन शाखा कोहलपुरबाट २ वटा तालिमप्राप्त २ वटा कुकुर नै घटनास्थलमा मगाइएको थियो । लिना र जम्बो नामका दुई वटा कुकुरले दिनभर घटना स्थल आसपासमा शिशिरको खोजी गरेका थिए ।
शिशिर घरमा कोही नभएको अवस्थामा शनिवार साँझ घरबाटै बेपत्ता भएको परिवारजनले बताएका छन् । परिवारका सबै सदस्य काममा रहेको र शिशिर घरमा एक्लै रहेको अवस्थामा हराएका थिए । घटनाबारे जानकारी आएपछि आइतबार देखि नै घटना स्थलमा पुगेर जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म मठको टोलीले घटनाको अनुसन्धान र बेपत्ता शिशिरको खोजी सुरु गरेका थिए ।