एम.पि.सी. मिडिया प्रा.ली.द्वारा सञ्चालित kakhara.com ले आज कार्तिक १ गते प्रकाशनको ६ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको छ । २०७७ साल कार्तिक १ गते घटस्थापनाका दिन सुरु भएको हाम्रो यात्राका ६ वर्ष विश्वास, सहकार्य र निरन्तर सिकाइका वर्ष बनेका छन् । यस सुखद अवसरमा सम्पूर्ण पाठक, शुभेच्छुक, विज्ञापनदाता तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
‘सबैको खबर, सम्पूर्ण खबर !’ भन्ने मूल नारासहित सुरु भएको कखराको यात्रा सहज थिएन । सूचना प्रविधिको पहुँच विस्तार हुँदै गरेको रुकुमजस्तो जिल्लामा अनलाइन पत्रकारितालाई स्थापित गर्नु चुनौतीपूर्ण थियो । तर बदलिँदो पत्रकारिताको प्रवृत्तिलाई आत्मसात् गर्दै हामीले यो यात्रालाई निरन्तरता दियौँ । पाठकहरूको माया, विश्वास र सहयोग नै हाम्रो सबैभन्दा ठुलो शक्ति बनेको छ ।
कखरा समाचारमा मात्र सीमित नभई विचार, विश्लेषण, ब्लग, मल्टिमिडिया र पाठकका सिर्जनालाई समेत प्राथमिकता दिँदै पत्रकारिताको व्यापक अभ्यासमा अघि बढिरहेको छ । प्रविधिको विकाससँगै भिडियो, तथ्याङ्कमा आधारित समाचार र नयाँ प्रस्तुतीकरणका माध्यमलाई आत्मसात् गर्दै विश्वसनीय, तथ्यपरक र पाठकमैत्री सामग्री पस्कन हामी प्रतिबद्ध छौँ ।
आजको पत्रकारिताको आवश्यकता सूचना दिनु मात्र होइन, सत्य पहिल्याउनु, तथ्य जाँच्नु र नागरिकलाई सही निर्णय लिन सघाउनु पनि हो । सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना, अपुष्ट समाचार र बढ्दो सूचनाको भिडबिच पत्रकारिताले आफ्नो विश्वसनीयता जोगाउन थप जिम्मेवार हुनुपर्छ । सत्ता र शक्तिलाई प्रश्न गर्ने, नागरिकका आवाज उठाउने, सार्वजनिक निकायलाई जबाफदेही बनाउने तथा सुशासन, पारदर्शिता र विधिको शासनका पक्षमा उभिने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ ।
बदलिँदो राजनीतिक परिवेशमा मुलुकलाई सुशासन, जबाफदेहिता र स्थायित्वको बाटोमा अघि बढाउन पत्रकारिताको भूमिका अझ महत्त्वपूर्ण बनेको छ । निर्वाचनलगायत लोकतान्त्रिक प्रक्रियामा निष्पक्ष सूचना प्रवाह, तथ्यमा आधारित बहस र नागरिकको सचेत सहभागिता सुनिश्चित गर्न सञ्चारमाध्यम जिम्मेवार हुनुपर्छ । कखरा यी मूल्यप्रति प्रतिबद्ध रहँदै समाज र नागरिकप्रतिको आफ्नो दायित्व निर्वाह गरिरहनेछ।
आगामी दिनमा पत्रकारिताको गुणस्तर अभिवृद्धि, प्रविधिको प्रभावकारी प्रयोग र जनसरोकारका विषयलाई प्राथमिकतामा राख्दै हाम्रो यात्रालाई अझ गतिशील बनाउने संकल्प गर्दछौँ ।
अन्त्यमा, ६ वर्षसम्म साथ, सहयोग र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण पाठक, सहकर्मी, विज्ञापनदाता तथा शुभेच्छुकहरूप्रति पुनः हार्दिक आभार व्यक्त गर्दछौँ । नेपालीहरूको महान् पर्व बडादसैँ, शुभ दीपावली, छठ तथा नेपाल संवत्को पावन अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।








