
१८ औँ पुस्तकालय दिवस रुकुम पश्चिममा पनि मनाइने भएको छ । भाद्र १५ गते देशभरमा जस्तै रुकुम पश्चिममा पनि पुस्तकालय दिवस मनाउन लागिएको हो ।
जिल्लामा जनविकास पुस्तकालय र पुस्तक तथा स्टेशनरी व्यवसाय महासङ्घ रुकुम पश्चिमको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको छ ।
दिवसको अवसरमा जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुका लागि पुस्तक उपलब्ध गराउने निर्णय भएको जनविकास पुस्तकालयका उपाध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले पुस्तक उपलब्ध गराउने छ । त्यस्तै पुस्तक उपलब्ध गराउन सार्वजनिक अपिल समेत गरिएको छ ।
जिल्लास्थित लेखकलाई आफ्ना पुस्तक उपलब्ध गराउन अपिल गरिएको छ भने अन्य इच्छुकलाई आफूसँग रहेका पुस्तक उपलब्ध गराएर सहयोग गर्न अपिल गरिएको कर्णाली प्रदेशका पूर्व सचिव भरतकुमार शर्माले जानकारी दिनुभयो ।
कारागारमा रहेका कैदीबन्दीहरुलाई रचनात्मक बनाउने उद्देश्यले पुस्तक उपलब्ध गराउने तयारी गरिएको बताउँदै यस कार्यक्रमका लागि सकेको सहयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
साथै उहाँले जिल्लास्थित सबै विद्यालयहरूलाई पुस्तकालयलाई व्यवस्था पनि गरी सञ्चालन गर्न र पुस्तकालय दिवस मनाउन आग्रह समेत गर्नुभएको छ ।
दिवस कसरी मनाउने भनेर निर्णय गर्न आज जन विकास पुस्तकालयको कार्यालय खलङ्गामा बैठक बसेको थियो । जनविकास पुस्तकालय र पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको संयुक्त बैठकले यसबारेमा निर्णय गरेको हो ।
जनविकास पुस्तकालयका उपाध्यक्ष नारायणप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकमा कर्णाली प्रदेशका पूर्व सचिव भरतकुमार शर्मा, रुकुमेली वाङमय अधिष्ठानका सचिव पूर्ण ओली, राप्ती साहित्य परिषद्का अध्यक्ष मनलाल ओली, पुस्तक तथा स्टेशनरी महासङ्घका अध्यक्ष कर्ण ओली लगायतको उपस्थिति रहेको थियो ।