
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा द लिजेन्ड कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उद्घाटन भएको छ । आज एक कार्यक्रमका बिच मुसिकोट १ खलङ्गाको बराहटाकुरा टुँडिखेलमा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी र प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
मुसिकोट ब्वाइजको आयोजना र रुकुम बक्सिङ सङ्घको सह आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिता उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका प्रमुख केसीले यो प्रतियोगिताले जिल्लाको फुटबल विकासका लागि भूमिका खेल्ने भन्दै आयोजकलाई धन्यवाद दिनुभयो ।
मुसिकोट नगरपालिका नगर भित्र निर्माणाधीन खेल संरचना निर्माणलाई पूर्णता दिन गम्भीर रूपमा लागेको उहाँले बताउनुभयो । मुसिकोट ३ को धैरेनीचौर खेल मैदान, वडा नम्बर २ को पानेढुंगा खेल मैदान र वडा नम्बर ६ को ट्याखोला खेलमैदान सहित अन्य खेल संरचनाको निर्माण कार्यलाई पूर्णता दिन नगरपालिकाले ध्यान दिएको उहाँको भनाई छ ।
साथै उहाँले बराहटाकुरा खेलमैदानलाई मर्मतका लागि पनि नगरपालिकाले यो वर्ष काम गर्ने उहाँले आश्वासन दिनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले फुटबल विकासका लागि यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । शान्ति सुरक्षाको पूर्ण प्रबन्ध रहेको भन्दै उहाँले ढुक्कले कार्यक्रम सफल पार्न आयोजकलाई आग्रह गर्नुभयो ।
आयोजक मुसिकोट ब्वाइजका अध्यक्ष राजु थापाको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख र प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा सशस्त्र प्रहरी बल रुकुम पश्चिमका प्रमुख जगदीशचन्द्र हमाल, प्रमुख अनुसन्धान अधिकृत नेबबहादुर राना, मुसिकोट नगरपालिका १ का अध्यक्ष ज्ञानुचन्द्र चन्द लगायतको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन पत्रकार मनिष खड्काले गर्नुभएको थियो । विजया दशमी तथा शुभ दीपावलीको अवसरमा एभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता हिजोबाट सुरु भए पनि उद्घाटन भने आज गरिएको हो । प्रतियोगितामा ३२ टिमले प्रतिस्पर्धा गरिरहेको आयोजक समितिका विक्रम बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छ । त्यस्तै उप विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । वेस्ट प्लेयरले ५ हजार पाउँदा फेयर प्ले अवार्डको पुरस्कार ५ हजार तोकिएको छ ।
त्यस्तै टप स्कोरर, वेस्ट गोल किपर, इमर्जिङ प्लेयर र वेस्ट डिफेन्डरले समान ३÷३ हजार पुरस्कार पाउने छन् । विभिन्न व्यक्तिहरूसँग सहयोग जुटाएर प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । यो प्रतियोगिता मुसिकोटमा आयोजना गरिएको हालसम्मकै ठुलो पुरस्कार राशिको प्रतियोगिता रहेको आयोजकको भनाई छ ।