Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यार्पु भलिबल प्रतियोगिता : पुरुषतर्फ सानीभेरी ४ तथा महिलातर्फ  बाँफिकोट २ प्रथम
फाइल फोटो

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ मा १५ औँ स्यार्पू पर्यटन मेलाको अवसरमा आयोजित खुला वडा स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । असोज ११ गते देखि सञ्चालन भएको प्रतियोगिता बुधवार सम्पन्न भएको हो । ३ नम्बर वडा युवा तथा खेलकुद विकास समितिले खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो ।

भलिबल प्रतियोगितामा रुकुम पूर्व र पश्चिमका २१ टिमले प्रतिस्पर्धा गरेका थिए । पुरुष भलिबल प्रतियोगितामा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ प्रथम भएको छ । फाइनलमा स्यार्पू दह युनाइटेड बाँफिकोट ३ लाई ३-० को सोझो सेटमा पराजित गदै सानीभेरी ४ प्रथम भएको हो । प्रथम भएको सानीभेरीले नगद एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

त्यसै दोस्रो भएको स्यार्पू दह युनाइटेड बाँफिकोट ३ ले नगद ७० हजार पाँच सय ५५ तथा तेस्रो भएको रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ ले नगद ४० हजार पाँच सय ५५ रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र पाउँदा, सान्त्वना स्थान प्राप्त गरेको सिस्ने गाउँपालिका वडा नम्बर ८ ले नगद १४ हजार पाँच सय ५५ रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाएको वडा युवा तथा खेलकुद विकास समितिका सचिव आदित्यकुमार मल्लले जानकारी दिनुभयो ।

महिला भलिबल प्रतियोगिता तर्फ बाँफिकोट गाउँपालिका वडा नम्बर २ प्रथम भएको छ । उसले फाइनलमा रुकुम पूर्वको सिस्ने गाउँपालिका ४ लाई पराजित गरेको थियो । प्रथम भएको बाँफिकोट २ ले नगद २० हजार पाँच सय ५५ रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र पाएको छ भने द्वितीय भएको सिस्ने ४ ले  नगद १५ हजार पाँच सय ५५ तथा तृतीय भएको बाँफिकोट ४ ले नगद दश हजार पाँच सय ५५ रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । महिला भलिबलमा रुकुम पूर्व र पश्चिमका विभिन्न वडाका १२ टिमले प्रतिस्पर्धा गरेका थिए ।

विधागत रूपमा पनि खेलाडीलाई पुरस्कृत गरिएको छ । उत्कृष्ट खेलाडी सानीभेरी गाउँपालिका वडा नम्बर ४ का सुरेन्द्र केसी घोषित हुनुभएको थियो । त्यसै वेस्ट सेटर स्यार्पू युनाइटेड बाँफिकोट ३ का सम्पूर्ण मल्ल, वेस्ट लिवेरोमा सिस्ने ६ का चन्द्र बिसी, वेस्ट सर्भरमा सानीभेरीका ४ नवीन वली, वेस्ट व्लकर स्यार्पू युनाइटेड बाँफिकोट ३ का तिलविक्रम केसी घोषित भएको आयोजकले जानकारी दिएको छ । यस्तै महिला भलिबल तर्फ बाँफिकोट २ की धनमाया नाथ उत्कृष्ट खेलाडी घोषित भएकी हुनुभएको हो । उत्कृष्ट खेलाडीलाई अनि नगद पुरस्कारसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update