युवा व्यवसायी तथा समाजसेवी लालवीर बोहराले व्यक्तिगत लगानी सडक निर्माण गर्नुभएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ का बोहराले वडाको कैलदेउमा सडक निर्माण गर्नुभएको हो । लक्ष्मी मावि कैलदेउ नजिकको च्यानडाँडाबाट गैराबारी जोड्ने अपुरो सडक निर्माण गरेको बोहराले बताउनुभयो । आफ्नै लगानीमा करिब १ किलोमिटर सडकको ट्र्याक खोलिएको उहाँको भनाई छ ।
यसअघि केही सडक निर्माण गरिएको थियो । तर उक्त सडक अधुरै हुँदा छेलो खेल्ने र गैराबारी टोलका स्थानीय सडकबाट वञ्चित थिए । लामो समयसम्म पहल गर्दा पनि कतैबाट सुनुवाइ नभएको स्थानीयले गुनासो गरेपछि आफ्नो गाउँको विकासका लागि सकेको सहयोग गरेको बोहराले बताउनुभयो । डेढ लाख बढीको खर्चमा उक्त सडक निर्माण गरिएको बताइएको छ ।
जेविएस निर्माण सेवाले २ दिन लगाएर सडक निर्माण गरेको हो । उक्त सडकबाट छेलोखेल्ने र गैराबारी टोलका ५० बढी घरधुरी प्रत्यक्ष लाभान्वित बनेका छन् । सडक निर्माण भएपछि अब गाउँसम्म पुग्न, विभिन्न सामग्री गाउँसम्म लैजान, गाउँको उत्पादन बजारसम्म पुर्याउन र बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन सहज भएको छ ।
युवा व्यवसायी बोहराले विभिन्न सामाजिक काम गर्दै आउनुभएको छ । सोही अन्तर्गत स्थानीयको आग्रहमा सडक निर्माणमा सहयोग गरेको बोहराले बताउनुभयो । आफ्नो सानो सहयोगले स्थानीयलाई ठुलो सहयोग पुगेको उहाँको भनाई छ ।
सरकारले ग्रामीण क्षेत्रको विकासका लागि ध्यान दिनुपर्ने बताउँदै उहाँले सरकारको ध्यान पुग्न नसकेको ठाउँमा स्थानीयको लगानीमा समेत विकास गर्न सकिन्छ भन्ने उदाहरण बोहराले पेस गरेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । साथै स्थानीयले बोहरालाई धन्यवाद समेत दिएका छन् ।





