नेपाली कम्युनिस्ट पार्टी जिल्ला समिति रुकुम पश्चिमले ‘राष्ट्रिय जागरण अभियान २०८३’ अन्तर्गत जिल्ला स्तरीय कार्य योजना पारित गरेको छ ।
सोमबार जिल्ला संयोजक गोविन्द रोका ‘सचिन’को अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको जिल्ला समितिको बैठकले अभियान सञ्चालनका लागि तयार पारिएको कार्य योजना सर्वसम्मतिले पारित गरेको हो । बैठकमा प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही, प्रदेश सह इन्चार्ज वसन्तकुमार शर्मा, प्रदेश संयोजक विमला केसी, प्रदेश सहसंयोजक ठगेन्द्र प्रकाश पुरीलगायत केन्द्रीय सदस्य तथा आयोग सदस्यहरूको विशेष उपस्थिति रहेको थियो ।
बैठकले पत्रकारमाथिको धरपकड, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, चर्को महँगी, कालोबजारी तथा राज्य आतङ्क रोक्न माग गर्दै यही कात्तिक २० गते जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमभित्र पार्टीका कर्णाली प्रदेश सदस्य तथा आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विकमाथि भएको भनिएको यातना, कुटपिट तथा दुर्व्यवहारको घटनाप्रति पार्टीले भर्त्सना गरेको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न गरिएको मागलाई बैठकले अनुमोदन गरेको संयोजक रोकाले जानकारी दिनुभयो ।
बैठकले कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालयको नामबाट जारी प्रेस नोटप्रति पनि आपत्ति जनाएको छ । पार्टीका प्रदेश सदस्य तथा आठबिसकोट नगरपालिका–८ का पूर्व वडाध्यक्ष मानबहादुर चँदाराको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले प्रेस नोट जारी गरिएको पार्टीको आरोप छ ।
सम्मानित अदालतले प्रतिवादी कायम नगरेको व्यक्तिलाई ‘डाँका चोरी मुद्दा’का फरार प्रतिवादी भनी उल्लेख गरिएको भन्दै पार्टीले सम्बन्धित पक्षसँग सार्वजनिक माफी माग्न र प्रेस नोट फिर्ता लिन माग गरेको छ । यद्यपि अदालतको फैसला कार्यान्वयनप्रति भने आफ्नो कुनै नकारात्मक टिप्पणी नरहेको पार्टीले स्पष्ट पारेको छ ।
यसै गरी, पत्रकारमाथि भएको भनिएको गैर कानुनी धरपकड र स्वतन्त्र प्रेसमाथिको दबाब तथा हस्तक्षेपको निन्दा गर्दै आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउन सरकारसँग माग गरिएको छ ।
चर्को महँगीबाट निम्न आय स्तर भएका नागरिक प्रभावित भएको उल्लेख गर्दै बैठकले महँगी तथा कालोबजारी नियन्त्रण गर्न र खाना पकाउने ग्यास, चिनी, मल, बिउलगायत अत्यावश्यक उपभोग्य वस्तुको सहज उपलब्धता सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकले पार्टीका जिल्ला सल्लाहकार खिमप्रसाद ढकाल, टोल कमिटी अध्यक्ष मालबहादुर ओली र सम्पर्क समन्वय प्रदेश सदस्य विशाल पुनको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
बैठकपछि जारी प्रेस विज्ञप्तिमा जिल्ला संयोजक गोविन्द रोका र सहसंयोजक सुरजकुमार परियारले हस्ताक्षर गर्नुभएको छ ।







