चौथो गैरिनेटा कप सम्पन्न, भलिबलमा मुसिकोट–७ साख विजेता

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ र मुसिकोट नगरपालिका–९ को संगमस्थल गैरिनेटामा आयोजित चौथो गैरिनेटा कप सम्पन्न भएको छ । कात्तिक १४ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक प्रतियोगिता आयोजना गरिएको थियो । संयुक्त मेला व्यवस्थापन समितिको आयोजनामा सम्पन्न प्रतियोगिताअन्तर्गत पुरुष भलिबलतर्फ मुसिकोट नगरपालिका–७ साख विजेता बनेको छ । विजेता समुहले १ लाख १ हजार १११ रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको  मेला व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार सानीभेरी गाउँपालिका–५ उपविजेता बन्दै ५५ हजार ५५५ रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, सेमिफाइनलमा पुगेर पराजित भएका त्रिवेणी गाउँपालिका–२ र सानीभेरी गाउँपालिका–३ ले समान २१ हजार २२२ रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । आमा समूहको रस्साकस्सी प्रतियोगितातर्फ चिन्छरे आमा समूह प्रथम हुँदै ५ हजार रुपैयाँ र बादरपानी आमा समूह दोस्रो हुँदै ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै  सान्त्वना हुने दुई समूहले  बादरपानी आमा समुह र रुँघा आमा समुहले समान १ हजार ५०० रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त  गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

एकल नृत्य प्रतियोगितातर्फ प्रकृति पुन मगर प्रथम हुँदै ३ हजार रुपैयाँ, जेसिका केसी दोस्रो हुँदै २ हजार रुपैयाँ, अनुस्का चन्द तेस्रो हुँदै १ हजार रुपैयाँ र नबिना पुन मगरले सान्त्वना स्थान हासिल गर्दै ५०० रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।  परम्परागत रूपमा लाग्दै आएको गैरिनेटा मेलामा पुरुष भलिबल, आमा समूहको रस्साकस्सी र एकल नृत्य प्रतियोगितासँगै स्थानीय झाँकी, आमा समूह तथा मयूर नाच प्रस्तुत गरिएको थियो । मेला १७ गते सकिने भनेपनी भलिबल खेल नसकिएपछि  एक दिन लम्बिएर बुधबार सकिएको हो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update