रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ बेलटापु खेल मैदानमा सञ्चालन भएको सानीभेरी प्रिमियर लिग क्रिकेट (एसपिएल) दोस्रो संस्करणको उपाधि सानीभेरी ६ को टिम भिमराजले जितेको छ । बुधवार भएको फाइनलमा रुकुम पश्चिमलाई १७ रनले पराजित गर्दै टिम भिमराजले उपाधि जितेको हो ।
पहिले ब्याटिङ गरेको टिम भिमराजले निर्धारित १५ ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । १ सय ४६ रनको लक्ष पछ्याएको रुकुम पश्चिम निर्धारित १५ ओभरमा ५ विकेटको क्षतिमा १ सय २८ रनमा समेटिएको थियो । यो सँगै टिम भिमराजले लगातार दोस्रो पटक उपाधिमा कब्जा जमाएको छ । गत वर्षको पहिलो संस्करणको उपाधि पनि टिम भिमराजले उठाएको थियो । यो टिममा दाङका खेलाडी सम्मिलित थिए ।

विजेता टिम भिमराजले नगद १ लाख ५१ हजार र ट्रफि जितेको छ । त्यस्तै खेलाडीले प्रमाणपत्र र मेडल पाएको आयोजक सानीभेरी प्रिमियर लिग सञ्चालक समितिले जनाएको छ । उप विजेता रुकुम पश्चिमले नगद ७५ हजार, कप, मेडल र प्रमाण पत्र पाएको आयोजकले जनाएको छ ।
त्यस्तै व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी रुकुम पश्चिमका अरविन्द घर्ती बनेका छन् । उनी वेस्ट ब्याट्सम्यान र प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका हुन् । उनले प्लेयर अफ द टुर्नामेन्टको ५ हजार, ट्रफि र वेस्ट ब्याट्सम्यानको नगद ३ हजार र ट्रफि प्राप्त गरेको आयोजकले जनाएको छ ।
वेस्ट बलर टिम भिमराजका वीरबहादुर घर्ती र इमर्जिङ प्लेयर रोयल पिपलडाँडाका रमन ददेल घोषित भए । उनीहरूले जनही ३ हजार सहित ट्रफि प्राप्त गरे । प्रतियोगितामा रुकुम पश्चिम र जाजरकोटका ९ वटा टोलीले प्रतिस्पर्धा गरेका थिए ।





