रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सानीभेरी गाउँपालिका ३ का २७ वर्षीय काशीराम विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सोमबार बिहान करिब ११ः३० बजे सानीभेरी गाउँपालिका–१, खारखोला क्षेत्रस्थित मध्य पहाडी लोक मार्गको खलङ्गा–सिम्ली सडक खण्डमा दुर्घटना भएको हो ।
खलङ्गाबाट सिम्ली तर्फ जाँदै गरेको सिम्ली बजारका २८ वर्षीय महेश भण्डारीले चलाएको लु.प्र.०१–००१ ज ६४० नम्बरको डबल क्याब जिप र विपरीत दिशाबाट आउँदै गरेको सानीभेरी ३ का २७ वर्षीय गोविन्द विकले चलाएको रा.४ प. १५२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक सानीभेरी गाउँपालिका–३ निवासी २७ वर्षीय गोविन्द विक र पछाडि सवार सोही स्थानका २७ वर्षीय काशीराम विक घाइते हुनुभएको थियो । दुवै जनालाई उद्धार गरी उपचारका लागि सानीभेरी अस्पताल सिम्ली हुँदै जिल्लाको चौरजहारी अस्पताल पुर्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारका अनुसार उपचारका क्रममा दिउँसो करिब १ः४५ बजे चिकित्सकले काशीराम विकलाई मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक गोविन्द विकको भने चौरजहारी अस्पतालमै उपचार भइरहेको उहाँले बताउनुभयो ।
दुर्घटनामा संलग्न जिप चालक सानीभेरी गाउँपालिका–९ निवासी २८ वर्षीय महेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखेको उहाँको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।





