Kakhara सबैको खबर सम्पूर्ण खबर
पाँचौँ ट्याखोला गोल्ड कप (महिला, पुरुष) फुटबल प्रतियोगिता सुरु 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४, ६ र ११ को संगम स्थल ट्याखोला खेल मैदानमा ट्याखोला गोल्ड कपको पाँचौँ संस्करण सुरु भएको छ । ट्याखोला खेलकुद संघको आयोजनामा महिला तथा पुरुष फुटबल प्रतियोगिता सुरु भएको हो । 

आइतबार एक कार्यक्रमका बिच मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले प्रतियोगिताका उद्घाटन गर्नुभयो । प्रतियोगिता उद्घाटन गर्दै उहाँले प्रतियोगिताको सफलताको कामना गर्दै यसले जिल्लाको फुटबल विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । ट्याखोला खेलकुद संघले गरिरहेको कामको उहाँले प्रशंसा समेत गर्नुभयो । 

साथै उहाँले मुसिकोट नगरपालिकाले समग्र खेलकुद विकासका लागि काम गरिरहेको उहाँले बताउनुभयो। अलपत्र योजना निर्माणको पूर्णता देखि समग्र खेलकुद विकासका लागि नगरपालिकाले काम गरिहेको र खेलकुदको विकासका लागि नगरपालिका प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । 

ट्याखोला खेलकुद संघका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुसिकोट नगरपालिका वडा नम्बर २ का अध्यक्ष दिनेश खड्का, १० का अध्यक्ष धनबहादुर खड्का बसन्त, चण्डी दल गण सल्लेका सह सेनानी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झबिन्द्र परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका मुसिकोट नगर सभापति बिरबल केसी लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रमको सञ्चालन पत्रकार मनिष खड्काले गर्नुभएको थियो । प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा ३२ वटा र महिला फुटबलमा हालसम्म ५ टिम दर्ता भएकाे र महिला तर्फ साेमबारसम्म टिम दर्ता गर्ने समय रहेकाे अध्यक्ष मनोज बुढाथोकीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पुरुष तर्फको विजेताले नगद ८० हजार र उप विजेताले ४० हजार पुरस्कार पाउने छन् । महिला तर्फ भने विजेता पुरस्कार २० हजार र उप विजेता पुरस्कार १० हजार राखिएको छ । पुरुष तर्फ दर्ता शुल्क ७ हजार र महिला तर्फ १५ सय तोकिएको छ । साथै पुरुष तथा महिला तर्फ कार्डको १ हजार रुपैयाँ जम्मा गर्नुपर्ने सङ्घले जनाएको छ ।

त्यस्तै दुवै इभेन्टमा व्यक्तिगत विधामा खेलाडी पुरस्कृत गरिने छ । वेस्ट डिफेन्डर, वेस्ट मिडफिल्डर, वेस्ट फरवार्ड, वेस्ट गोल किपर, वेस्ट वेस्ट कोच तथा म्यानेजरलाई पुरस्कृत गरिने छ भने एउटा टिमलाई फेयर प्ले अवार्ड समेत प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update