Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा ९ मा ‘कुप्रेकोट मेला’लाग्दै, विभिन्न प्रतियोगिता आयोजना

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–९, चौबाङबागमा स्थानीय कला, संस्कृति र खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्थानीय कुप्रेकोट मेला’ लाग्ने भएको छ । स्थानीय एकता समाज नेपालले मेला आयोजना गरेको हो ।

संस्थाले मुसिकोट खलङ्गामा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्तिक ३० गतेदेखि मंसिर २ गतेसम्म मेला लाग्ने जानकारी गराएको छ । मेलामा पुरुष भलिबल, अनलाइन वक्तृत्वकला, लोकदोहोरी, एकल नृत्य, घैँटो फोर र बेलुन फुटाउनेलगायत प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगितामा विजयी हुने खेलाडी तथा सहभागीलाई नगद पुरस्कार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष दुर्गाप्रसाद विकले जानकारी दिनुभयो ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले ४० हजार रुपैयाँ, द्वितीयले २५ हजार र तृतीयले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, अनलाइन वक्तृत्वकलामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ प्रदान गरिनेछ ।

लोकदोहोरी प्रतियोगितामा प्रथम हुनेले २ हजार ५ सय, द्वितीयले १ हजार ५ सय र तृतीयले १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । एकल नृत्यतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १ हजार, ५ सय र ४ सय रुपैयाँ प्रदान गरिने अध्यक्ष विकले जानकारी गराउनुभयो । घैँटो फोर प्रतियोगितामा विजेतालाई १ हजार रुपैयाँ तथा बेलुन फुटाउने प्रतियोगितामा १० वर्षमुनिका बालबालिकालाई लक्षित गरी पुरस्कारको व्यवस्था गरिएको छ ।

आयोजकका अनुसार मेलामा सहभागी हुने सबैलाई प्रमाणपत्रसहित मेडलको व्यवस्था गरिएको छ । साथै, मेलाका अवसरमा विभिन्न समूहका स्थानीय प्रस्तुति पनि रहनेछन् ।

प्रतियोगितामा सहभागी हुन पुरुष भलिबलका लागि ३ हजार रुपैयाँ, अनलाइन वक्तृत्वकलाका लागि ५ सय रुपैयाँ र लोकदोहोरीका लागि २ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ । एकल नृत्य र घैँटो फोरका लागि १ सय रुपैयाँ दर्ता शुल्क लाग्नेछ भने १० वर्षमुनिका बालबालिकाका लागि बेलुन फुटाउने प्रतियोगिता निःशुल्क रहनेछ ।

पुरुष भलिबल प्रतियोगिता नयाँ संरचनाअनुसार शुद्ध वडा स्तरीय हुने आयोजकले जनाएको छ । खेलाडीले आफ्नो परिचय खुल्ने कागजात खेल सुरु हुनुभन्दा पहिले नै पेस गर्नुपर्नेछ । मेलामा जुवा तथा तास खेल्न नपाइने आयोजकले जनाएको छ ।

अनलाइन वक्तृत्वकलामा देशभरका माध्यमिक तहका विद्यार्थी सहभागी हुन पाउनेछन् । यसको शीर्षक ‘मौलिक कला संस्कृतिको संरक्षणमा स्थानीय सरकारको भूमिका’ रहेको छ ।

मेला कात्तिक ३० गते बिहान १०स्३० बजे उद्घाटन हुने र मंसिर २ गते समापन हुने आयोजकले जनाएको छ । टोली दर्ता गर्ने अन्तिम मिति कात्तिक ३० गते बिहान १० बजेसम्म तोकिएको छ।

महिला भलिबल प्रतियोगिता भने प्राविधिक समस्याका कारण स्थगित गरिएको सूचनामा उल्लेख छ । आवश्यक प्रक्रिया पूरा गरेपछि यसबारे पुनः सार्वजनिक सूचना जारी गरिने आयोजकले जनाएको छ ।

मेलामा सहभागी भई स्थानीय कला, संस्कृति, खेलकुद र प्रतिभाको प्रवर्द्धनमा सहयोग गर्न आयोजकले सम्पूर्ण खेलाडी, विद्यार्थी, स्थानीयवासी तथा सरोकारवालालाई आग्रह गरेको छ ।

यो मेला परम्परागत तथा ऐतिहासिक मेला हो । मेला १६ औँ शताब्दी देखि लाग्दै आए पनि माओवादी सशस्त्र संघर्षका कारण प्रभावित बनेको थियो । तर पछिल्लो ६ वर्ष देखि भने स्थानीय युवाहरूले मेला लगाउँदै आएका छन् । मेलाको उद्देश्य कुप्रेकोटको प्रचारप्रसार गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, स्थानीय मौलिकता तथा कला संस्कृतिको संरक्षण रहेको आयोजकको भनाई छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update