रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा फोर्स गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार दिउँसो करिब ४ः५० बजे आठबिसकोट नगरपालिका–१० भयाउनेस्थित भित्री कच्ची सडकखण्डमा राडीबजारबाट खलंगातर्फ आउँदै गरेको फोर्स गाडी दुर्घटनामा परेको हो ।
सानीभेरी गाउँपालिका–६ निवासी २८ वर्षीय रामबहादुर विकले चलाएको लु. प्र. ०३००१ ख ००११ नम्बरको फोर्स गाडीको ब्रेक फेल भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा आठबिसकोट नगरपालिका–१० का १६ वर्षीय नवीन केसी, ६८ वर्षीय दले दमाई, ६८ वर्षीय बिरजंग दमाई, ७४ वर्षीय दले दमाई, वडा नम्बर २ का ५८ वर्षीय रविन्द्रबहादुर विश्वकर्मा, वडा नम्बर १ राेकाजाखेतका ४३ वर्षीय मनिराम विक र बाँफिकोट गाउँपालिका–६ की ६५ बर्सिया कमला मल्ल घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये नवीन केसीको दाहिने काँधमा चोट लागेको छ भने अन्य घाइतेको काँध, ढाड, छाती, घाँटी तथा हातमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था सामान्य मध्यम रहेको र उपचारका लागि नगर अस्पताल राडी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले गाडी चालक रामबहादुर विकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आठबिसकोटको हिरासतमा राखेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो ।





