
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ मा प्रथम छिवाङ कप एभेन ए साइड फुटबल जारी छ । छिवाङ फुटबल क्लबले आयोजना गरेको कपको आइतबार मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगितामा विभिन्न ठाउँका ३१ वटा टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता नकआउट सिस्टममा सञ्चालन भइरहेको छ । विजेताले नगद ८० हजार, कप मेडल र प्रमाणपत्र प्राप्त गर्दा उप विजेताले ४० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
फेयर प्ले अवार्डको पुरस्कार ५ हजार रहेको छ । त्यस्तै व्यक्तिगत इभेन्ट तर्फ वेस्ट प्लेयरका लागि ५ हजार पुरस्कार तोकिएको छ भने वेस्ट गोलकिपर, वेस्ट डिफेन्डर र वेस्ट स्कोररले समान ३ हजार नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकको भनाई छ ।
त्यस्तै सेमिफाइनल देखिका खेलमा म्यान अफ द म्याचको समेत व्यवस्था रहेको बताइएको छ । दसैँ, तिहार लगायतका चाडपर्वको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता वडा नम्बर १३ छिवाङको सेवा केन्द्र फुटबल ग्राउन्डमा भइरहेको छ ।