अनुहारमै पीडै पीडा झल्किने नितान्त कारुणिक एक महिलाले “बलात्कारी पार्टी” भन्दै, कुनै बेलाको विश्वविख्यात कम्युनिस्ट आन्दोलनको प्रतीक हँसिया हथौडा अंकित चिन्ह राखेर अनशन बसेको र कम्युनिस्ट समर्थक अन्य नारीहरूसँग लुछाचुँडी गरेको दृश्य काठमाडौँको माइतीघरबाट यो हप्ता संसारभर देखियो । यो घटना ठिक त्यति बेला भयो, जति बेला नेपालमा वाम जनमत करिब दुई तिहाइको स्पष्ट बहुमतबाट २१ प्रतिशतमा झरेको थियो ।
यो दृश्य केवल एउटा विरोध प्रदर्शनको दृश्य मात्र थिएन; यो नेपाली वाम आन्दोलनको लामो यात्रामाथि अचानक परेको थकान र एक बडेमानको प्रश्न चिन्ह पनि थियो । विशेषतः चार दशकभन्दा बढी समयदेखि वाम आस्थालाई न्याय, समानता, श्रमको सम्मान, सामाजिक रूपान्तरण र जनमुक्तिको आशा का रूपमा बोक्दै आएका लाखौँ मानिसहरूका लागि यो दृश्य प्रश्न हो ? कि उत्तर हो ? प्रतिफल हो ? कि प्रतिगमन हो ? भन्ने सवाल मथिँगलमा मडारिइरहेको छ । कुनै वेला हँसिया हथौडा साधारण चिन्ह मात्र नभएर असमान समाजविरुद्ध उभिने साहस, शोषितको पक्षमा उभिने प्रतिज्ञा, र राजनीति अझ मानवीय, अझ नैतिक र अझ न्यायपूर्ण हुन सक्छ भन्ने विश्वासको प्रतीक थियो । जब त्यही प्रतीक बोकेर बलात्कार पीडित स्वरहरू नै आक्रोशित र अपमानित मुद्रामा सडकमा उभिन बाध्य हुन्छन्, तब त्यो दृश्य बाम आस्थामाथिको आघात बन्छ तर कसका तर्फबाट ? हो नेपालका वाम समर्थकहरूले कम्युनिस्ट आस्थालाई कहिल्यै पनि सत्ता प्राप्तिको परियोजनाका रूपमा बुझेका थिएनन् । यसलाई एउटा वैकल्पिक नैतिक संस्कार, जनमुखी राज्य दृष्टि र असमान समाजको रूपान्तरण गर्ने ऐतिहासिक शक्ति मानिएको थियो । त्यसैले वाम राजनीति एक समय जनताको आशाको केन्द्र बन्न सफल भएको थियो। त्यही आशा, त्यही त्याग, त्यही जनविश्वास र त्यही वैचारिक पुँजीको बलमा नेपाली वाम शक्तिहरू देशको सबैभन्दा प्रभावशाली राजनीतिक ध्रुव बन्न पुगे। दुई तिहाइको जनादेश केवल सङ्ख्यात्मक विजय मात्र थिएन; त्यो त जनताले “अब त केही फरक हुनेछ” भनेर दिएको ऐतिहासिक भरोसा थियो । तर जनताले वाम शक्तिहरूबाट अपेक्षा गरेको नैतिक अनुशासन, विचार अनुकूल व्यवहार, सामाजिक न्यायप्रतिको दृढता र राजनीतिक शुचिता व्यवहारमा क्रमशः कमजोर हुँदै बाम विचारधाराको प्रतीक नै बोकेरै त्यसै विरुद्ध पीडित स्वरहरू उठ्न थाल्छन्, तब प्रश्न केवल दल, नेतृत्व वा सङ्गठनमाथि मात्र उठ्दैन प्रश्न सिङ्गो विचार, त्यसको प्रयोग, त्यसको नैतिक विश्वसनीयता र त्यसको वर्तमान स्वरूपमाथि उठ्न थाल्छ । अनि मानिसहरू सोच्न बाध्य हुन्छन् मार्क्सवाद के जन्मजात राजनीति नै थियो त ? सायद यही ठाउँमा पुगेर,एउटा पुरानो तर अत्यन्त गम्भीर प्रश्न फेरि जीवित हुन्छ । कम्युनिस्ट भनेको राजनीति नै हो कि दर्शन ?
हो यस नेपालका हालका घटनाले यही पुरानो प्रश्नलाई फेरी उठान गरेको छ कम्युनिजम के हो ? यो शुद्ध राजनीतिक कार्यक्रम हो कि दार्शनिक सिद्धान्त वा विश्व दृष्टिकोण? हो यो बहस Karl Marx जीवित हुँदै देखि सुरु भएको हो । प्रथम इन्टरनेसनल (अन्तर्राष्ट्रिय मजदुर संघ) को सम्मेलनमा मार्क्सको सामु यो प्रश्न प्रस्तुत गरिएको थियो । मार्क्स स्वयं यसलाई राजनीतिक आन्दोलनका रूपमा स्थापित गर्न चाहन्थे र यसलाई शक्तिशाली राजनीतिक शक्तिका रूपमा देखाउन प्रयत्न गरे। तर यथार्थमा कम्युनिजम राजनीतिभन्दा बढी दार्शनिक आधारमा उभिएको थियो । यो समाज, अर्थतन्त्र र मानवमुक्तिसम्बन्धी एक व्यापक दर्शन थियो। मार्क्सले कम्युनिस्ट विचारलाई शुद्ध राजनीतिक शक्तिका रूपमा प्रमाणित गर्न जर्मनीमा मजदुर वर्गको ठुलो आन्दोलन सञ्चालन गरे । तर उक्त प्रयास पूर्ण रूपमा असफल भयो र चकनाचुर भयो। तर इतिहास यहीँ टुङ्गिएन । त्यसपछि संसारका विभिन्न भागमा कम्युनिस्ट राजनीतिले सफलता हासिल गर्यो विशेषतः औद्योगिक रूपमा विकसित नभई कृषिप्रधान, असमान र पिछडिएका समाजहरूमा । सबैभन्दा ठुलो सफलता रुसमा आयो । सन् १९१७ को अक्टोबर क्रान्तिमा Vladimir Lenin को नेतृत्वमा बोल्सेभिकहरूले सत्ता कब्जा गरे र १९२२ मा Soviet Union को स्थापना भयो। यो मार्क्सको मूल अपेक्षाभन्दा बाहिरको परिणाम थियो, किनकि रुस औद्योगिक देश थिएन । तर युद्ध, जार शासनको असफलता र जन असन्तोषले क्रान्तिलाई ऐतिहासिक अवसर प्रदान गर्यो । त्यसै गरी, चीनमा सन् १९४९ मा Mao Zedong को नेतृत्वमा कम्युनिस्ट क्रान्ति सफल भयो। लामो गृहयुद्धपछि चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता कब्जा गर्यो । चीनले कृषि सुधार, औद्योगिकीकरण र पछि “सोसलिस्ट मार्केट इकोनोमी” मार्फत आफूलाई विश्वको दोस्रो ठुलो अर्थतन्त्रमा रूपान्तरण गर्यो । क्युबामा सन् १९५९ मा Fidel Castro र Che Guevara को क्रान्तिले बाटिस्टा तानाशाहीको अन्त्य गर्यो । दोस्रो विश्वयुद्धपछि पूर्वी युरोप, भियतनाम, लाओस र अन्य देशहरूमा पनि कम्युनिस्ट शक्तिहरू राष्ट्रिय मुक्ति, युद्ध र औपनिवेशिक विरोधी आन्दोलनसँग जोडिएर उभिए।तर यहीँ एउटा कुरा बुझ्नुपर्छ यी सफलताहरू शुद्ध मार्क्सवादी सिद्धान्तका प्रत्यक्ष विजय थिएनन्; ती धेरै हदसम्म लेनिनवाद, माओवाद, युद्ध, राष्ट्रिय मुक्ति, उपनिवेशवादविरोध र विशेष ऐतिहासिक परिस्थितिका परिणाम थिए । त्यसैले कम्युनिस्ट राजनीतिको सफलता दर्शनको सरल विस्तार थिएन; त्यो सधैँ शक्ति, नेतृत्व, ऐतिहासिक समय र संकटको सङ्गमबाट जन्मिएको थियो । यही कारणले, १९८९ ९१ को सोभियत पतनपछि कम्युनिस्ट राजनीतिको “शुद्ध” रूप कमजोर भयो, यद्यपि यसको दार्शनिक प्रभाव भने मरेन ।
Karl Marx ले भनेका थिए “दार्शनिकहरूले संसारलाई विभिन्न तरिकाले व्याख्या मात्र गरेका छन्; तर मुख्य कुरा त यसलाई बदल्नु हो ।” तर नेपालका कम्युनिस्टहरूले न त दर्शनलाई गम्भीरतापूर्वक लिए, न त समाज बदल्ने साहस गरे । उनीहरूले दर्शनलाई नै व्यापार बनाए। यही कारणले आज जनताले हँसिया हथौडा बोकेर अनशन बस्ने महिलाको पीडा र कम्युनिस्ट नेताको जीवनशैलीबिच आकाश पातालको दूरी देख्न थालेका छन् । जब दर्शन सत्ताका लागि मास्क बन्छ, तब दर्शन आफैँ मर्दैन त्यसका व्यापारीहरूको विश्वसनीयता मर्छ । पुरानै प्रसङ्गमा जाओँ के मार्क्सवाद जन्मजातै दर्शन हो, राजनीति होइन? हो यसको जन्मभूमि नै दर्शन हो। मार्क्सले आफ्नो विचारलाई Georg Wilhelm Friedrich Hegel को द्वन्द्वात्मक आदर्शवाद र Ludwig Feuerbach को भौतिकवादबाट रूपान्तरण गर्दै इतिहासको भौतिकवादी व्याख्या र वर्गसंघर्षको अवधारणा विकास गरे । तर त्यो कुनै चुनावी घोषणापत्र वा शुद्ध राजनीतिक कार्यक्रम थिएन । त्यो समाज, अर्थतन्त्र, मानव अस्तित्व, श्रम, विमुखता (alienation) र मुक्तिको एक समग्र विश्व दृष्टिकोण थियो । राजनीतिले यसलाई सत्ताको हतियार बनायो; तर दर्शनले यसलाई मानव जीवनको मूल प्रश्नसँग जोड्यो । यही दार्शनिक परम्परा पछि अझ जटिल बन्दै गयो । यसको अन्तिम रूप राजनीतिक पार्टीहरूको नारा वा सत्ताको संरचनामा होइन, आधुनिक चिन्तकहरूको आलोचनात्मक दर्शनमा प्रकट भयो । उदाहरणका लागि, Martin Heidegger ले Being and Time मा ‘अस्तित्व’ (Being) को प्रश्न उठाउँदै आधुनिक मानव आफ्नो साँचो अस्तित्वबाट टाढिँदै गएको संकट देखाए । उनको दृष्टिमा एलियनेशन केवल पूँजीवादको समस्या मात्र होइन, सम्पूर्ण आधुनिकताको संकट हो । यसले मार्क्सको श्रम-विमुखताको विचारलाई अझ अस्तित्ववादी आधार दिन्छ । हाइडेगरका अनुसार दर्शनको काम सत्ता सम्हाल्नु होइन, मानव अस्तित्वको सत्य खोज्नु हो । त्यसै गरी, Michel Foucault ले शक्ति, ज्ञान, संस्था र नियन्त्रणका सूक्ष्म संरचनाहरूलाई विश्लेषण गर्दै मार्क्सवादको दार्शनिक क्षितिजलाई नयाँ मोड दिए । Discipline and Punish मा उनले शक्ति केवल राज्य वा आर्थिक वर्गमा सीमित हुँदैन; त्यो विद्यालय, अस्पताल, जेल, भाषा, ज्ञान र शरीरमार्फत सर्वत्र फैलिएको हुन्छ । यसले वर्गसंघर्षलाई नकार्दैन, तर त्यसलाई अझ जटिल बनाउँछ। यस अर्थमा फुकोले मार्क्सवादलाई पार्टीको नाराबाट निकालेर आधुनिक समाजको सूक्ष्म आलोचनामा रूपान्तरण गरे । यसरी हेर्दा, मार्क्सवादको राजनीतिक रूप असफल हुन सक्छ, विघटित हुन सक्छ, भ्रष्ट हुन सक्छ; तर यसको दार्शनिक रूप सजिलै मर्दैन । किनकि यसको मूल प्रश्न अझै जिउँदो छ । मानव किन पराधीन छ ? शक्ति कसरी काम गर्छ? श्रम किन शोषित हुन्छ ? समाज किन असमान छ ? र मुक्ति सम्भव छ कि छैन ? यही प्रश्नहरूले मार्क्सवादलाई अझै पनि प्रासङ्गिक बनाइरहेका छन् । नेपालमा कम्युनिस्ट विचारधाराको वर्तमान संकटलाई पनि यही दृष्टिबाट बुझ्नुपर्छ । र नेपालमा कम्युनिस्ट विचारधाराको वर्तमान संकटलाई पनि यही दृष्टिबाट बुझ्नुपर्छ । नेपाली बामहरूले राजनीतिक सत्ताबाट बाहिरिनु स्वाभाविक र सहज स्वीकार्य मान्दै बाम दर्शनको खोचे पसलमा दर्शनको लेनादेना गरेर रमाउँदा पनि उति घाटा चाही हुनेवाला छैन ।





-1759842583.jpg)