Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा अलपत्र आयोजना पूरा गर्न सरकारलाई सांसद शर्माको ध्यानाकर्षण  

रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य गोपाल शर्मा अनलले जिल्लामा अलपत्र अवस्थामा रहेका आयोजनाहरूको पूर्णताको माग गर्नुभएको छ । आज संसद्को शून्य समयमा बोल्दै उहाँले जिल्लामा विभिन्न आयोजनाहरू अलपत्र अवस्थामा रहेको भन्दै उक्त आयोजनाहरूको पूर्णताका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सङ्घीय सरकारको मातहतमा रहेका जिल्लाका अति आवश्यक आयोजनाहरू समयमै सम्पन्न नहुँदा जनताले सास्ती बेहोर्नुपरेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले मध्य पहाडी लोक मार्ग अन्तर्गतको चौरजहारी भेरी पुल, ठुली भेरीको रग्दा र सानीभेरीको मेघा सडक पुल अलपत्र रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

त्यस्तै मुसिकोट–चौखावाङ सडक समेत अलपत्र अवस्थामा रहेको भन्दै उहाँले अलपत्र अवस्थामा रहेका यस्ता आयोजनाको समयमै निर्माण सम्पन्न गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो । 

उहाँले स्वास्थ्य बिमाको रकम उपलब्ध गराउन समेत सरकार समक्ष माग गर्नुभएको छ । स्वास्थ्य बिमा बोर्डले जिल्लाका अस्पताललाई ११ करोड भुक्तानी नगर्दा अस्पताल सञ्चालनमा समस्या भएको भन्दै उहाँले तत्काल दाबी रकम भुक्तानी गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update