रुकुम पश्चिमको आठविसकोट नगरपालिका १ रोकाजास्थित भित्री सडक खण्डमा बोलेरो जिप चालकमाथि अज्ञात समूहले कुटपिट गरेको छ । भने दुई वटा मोबाइल फोन र झोला लुटेर फरार भएका छन् ।
मङ्गलवार साँझ करिब ७ः३० बजे राडीबाट खेततर्फ जाँदै गरेको बा १३ च २९५७ नम्बरको डबल क्याप बोलेरो जिपलाई सडकमा ढुङ्गा राखेर रोकिएको र चालकले ढुङ्गा हटाउने क्रममा अज्ञात ४/५ जनाको समूहले चालकमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
घटनामा जिप चालक आठबिसकोट नगरपालिका वडा नम्बर १ फिलिङ्गेका अन्दाजी २५ वर्षीय मुकेश बिक घाइते भएका हुनुभएको छ । कुटपिटबाट उहाँको शरीरको भित्री भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाडीमा सवार सोही स्थानका ३९ वर्षीय पुने बुढाले छुटाउन खोज्दा उहाँको दाहिने हातको पन्जामा चोट लागेको छ । कुटपिट गर्ने अज्ञात समूहले चालकका दुई वटा मोबाइल र एउटा झोला समेत लिई फरार भएको उहाँको भनाई छ ।
घटनाको खबर राति ९ः१५ बजे प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट स्यालाखदीबाट प्रहरी सहायक निरीक्षक डम्बरबहादुर चन्दको नेतृत्वमा ४ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो ।
दुवै घाइतेको स्थानीय बुढा उपचार क्लिनिक, आठबिसकोट नगरपालिका–१ ओख्लेमा उपचार भइरहेको र उहाँहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो ।
कुटपिटका क्रममा बोलेरो जिपको साइडको सिसा फुटेको भए पनि अन्य क्षति नभएको तथा गाडीलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य भइरहेको छ ।
अज्ञात समूहले लुटेर लगेको झोलामा नगद रकम रहेको भन्ने खबर प्राप्त भए पनि यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।








-1759842583.jpg)