Kakhara सबैको खबर सम्पूर्ण खबर
उपप्रमुख सहित १४ जनप्रतिनिधिलाई पदमुक्त गर्ने निर्णय विरुद्ध अन्तरिम आदेश

आठबिसकाेट नगरपालिकाका उपप्रमुख धनकुमारी शाही सहित रुकुम पश्चिमका १४ जना जनप्रतिनिधिकाे पदमुक्तको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले जनप्रतिनिधिलाई पद मुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

जनप्रतिनिधिलाई पदमुक्त गर्ने निर्णय गर्दा नेपाली कम्युनिस्ट पार्टी नेकपाले सफाइको मौका समेत नदिएको भन्दै सर्वोच्चले मुद्दाको अन्तिम टुङ्गो लाग्दासम्म पदमुक्तकाे निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ ।

प्रस्तुत निवेदनमा नेपाल कम्युनिस्ट पार्टी मिति २०८२/११/३० को केन्द्रीय कार्य समितिको यी निवेदकलाई निष्कासन गर्ने निर्णयमा यस कानुनी व्यवस्था अनुरूप केन्द्रीय समितिबाट सफाइको मौका प्रदान गरेको नदेखिई सम्बन्धित तहको पार्टी समितिबाट माग भएको देखिएको र उल्लिखित कानुनी व्यवस्था अनुसार जाँचबुझ समितिसमेत गठन भएको नदेखिएको प्रारम्भिक अवस्था देखिएको आदेशमा उल्लेख छ । 

यसरी प्रचलित कानुनले व्यवस्था गरे अनुसार विधिसम्मत रूपमा सफाइको मौका नदिई निर्वाचित पदबाट निष्कासन गर्दा निवेदकलाई अपूरणीय क्षति हुने देखियो । यसैले सुविधा सन्तुलनका दृष्टिकोणबाट यी निवेदकको निर्वाचित पद स्वतः रिक्त भएको मान्ने भनी निर्वाचन आयोगबाट मिति २०८३/१/२९ मा भएको निर्णय र सो आधारमा मिति २०८३/१/३१ मा प्रकाशित सूचना कार्यान्वयन नगर्नु नगराउनु भनी विपक्षीका नाउँमा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (क) बमोजिम प्रस्तुत निवेदनमा टुङ्गो नलागेसम्म अन्तरिम आदेश जारी गरिएको छ, आदेशमा भनिएको छ । आदेशको जानकारी विपक्षीलाई दिन समेत सर्वोच्चले भनेको छ ।

यथाशीघ्र विवादको निरूपण हुनुपर्ने देखिँदा लिखित जवाफ परेको वा पर्ने अवधि नाघेको ७ (सात) दिनभित्र पेशीमा पालो आउने गरी प्राथमिकता दिई नियमानुसार पेस गर्न पनि आदेशमा भनिएको छ । 

नेपाली कम्युनिस्ट पार्टीले २०७९ सालको निर्वाचनमा निर्वाचित भएका आठबिसकोट नगरपालिकाका उपप्रमुख सहित ६ वडाध्यक्ष, कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिका सदस्य गरी १४ जना जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय कार्यसमितिको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी गराएको भन्दै आयोगले उक्त पद स्वतः रिक्त रहेको सूचना जारी गरेको थियाे ।

पद मुक्त हुनेमा आठबिसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाही, सोही पालिका वडा नम्बर १० का अध्यक्ष गणेशकुमार शाह, वडा नम्बर १३ का वडाध्यक्ष टेकबहादुर थापा रहनुभएको थियोे । 

त्यस्तै चौरजहारी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष लालबहादुर बुढा, ५ का वडाध्यक्ष खुमबहादुर खड्का, सोही पालिकाको वडा नम्बर १० का वडाध्यक्ष वीरेन्द्र रोकाय र ११ का वडाध्यक्ष तुस्से ओली पनि पद मुक्त हुनुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update